NE/Prabhupada 0085 - ज्ञानको संस्कृति भनेको आध्यात्मिक ज्ञान हो



Lecture on Sri Isopanisad, Mantra 9-10 -- Los Angeles, May 14, 1970

"विद्वानहरुले हामीलाई बताएका छन् कि ज्ञानमय संस्कृतिबाट एक परिणाम निस्कन्छ, र अज्ञानताबाट फरक किसिमको परिणाम निस्किन्छ।" हिजो हामीले केहि हदसम्म अज्ञानताको बारेमा छलफल गरेका थियौं र ज्ञानमय संस्कृति के हो भन्ने बारेमा | ज्ञानमय संस्कृति भनेको आध्यात्मिक ज्ञान हो। यहि हो वास्तविक ज्ञान। र सुविधाहरू बढाउनको लागि ज्ञान अथवा यो शरीरलाई बचाउनमात्र खोज्ने ज्ञान, त्यो अज्ञानमय संस्कृति हो। किनभने यो शरीरलाई बचाउन जति प्रयास गरे पनि, शरीरको प्राकृतिक क्रम यथावत रहन्छ । त्यो के हो? जन्म मृत्यु जरा व्याधि (भ गी १३।९) | कसैले पनि यो शरीरलाई बारम्बार हुने जन्म र मृत्युबाट बचाउन सक्दैन, र रोग लाग्न र वृद्ध हुनबाट पनि बचाउन सक्दैन। मानिसहरु यो शरीरको विषयमा जानकारी प्राप्त गर्न निकै व्यस्त छन्, यद्यपी तिनिहरूले देख्दैछन् कि यो शरीर प्रत्येक क्षण क्षय हुँदैछ | यो शरीरको मृत्यु जन्म भएको दिन नै निश्चित भइसकेको छ। यो सत्य हो। यहि कारण शरीरको प्राकृतिक क्रमलाई कसैले पनि रोक्न सक्दैन। यो शरीरको प्रक्रियालाई सामना गर्नैपर्छ, त्यो हो, जन्म, मृत्यु, बुढ्यौली, र रोग।

त्यसैले भागवतमा उल्लेख गरिएको छ, यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके ((श्री भ १०।८४।१३) | यो शरीर तीन किसिमका प्राथमिक तत्त्वबाट बनेको छ: खकार, पित्त र श्वास अथवा वायु। यो वैदिक संस्करण र आयुर्वेदिक तथ्य हो। यो शरीर खकार, पित्त र श्वासको थैलो हो। बुढो भएपछि श्वास चल्नमा मुस्किल हुन्छ, यसै कारण वृद्ध मानिसहरूलाई दम बढ्ने जस्ता रोगहरू लाग्दछन्। त्यसैले भागवतमा भनिएको छ,"जसले यो खकार, वायु र पित्तको मिश्रणलाई आफु नै हो भनेर सम्झन्छ, ऊ गधा हो।" यो वास्तवमा सत्य हो। यदि हामीले यो खकार, वायु र पित्तको थैलोलाई आफैं हो भनेर स्वीकार्छौं भने..... बुद्धिमान मानिसहरू, महान दार्शनिकहरू र ठुला वैज्ञानिक..... के यसको अर्थ यो हो कि तिनीहरू वायु, खकार र पित्तको मिश्रण हुन्? होइन। यो गल्ति हो। ऊ वास्तवमा यस्तो पित्त, खकार र हावाभन्दा फरक हुन्छ । ऊ आत्मा हो | उसको कर्म अनुसार उसले देखाउँछ, आफ्नो क्षमता देखाउँछ। तिनीहरु यो कर्मको विषय, कर्मको नियम जान्दैनन्। किन हामीहरूले विभिन्न किसिमका व्यक्तित्व प्राप्त गर्दछौं ?