NE/Prabhupada 0303 - दिव्य, "तिमी पर हुन्छौ"



Lecture -- Seattle, October 2, 1968

प्रभुपाद: अगाडि बढ |

तमाल कृष्ण : " 'तपाईको अवस्था दिव्य हुन्छ |'"

प्रभुपाद: दिव्य |"तिमी पर हुन्छौ |"यो भगवद् गीतामा भनिएको छ : इन्द्रियाणि पराण्य् आहुर् इन्द्रियेभ्यः परं मनः मनसस् तु परा बुद्धिर् यो बुद्धेः परतस् तु सः (भ गी ३|४२) त्यसैले ... सर्वप्रथम, तिमीले यो शरीर अनुभव गर्छौ | शरीर अर्थात् इन्द्रियहरु | तर जब तिमी अगाडि बढ्छौ, तिमीले देख्छौ कि यी इन्द्रियहरुको केन्द्र मन हो | जबसम्म मन शान्त हुँदैन, हामीले आफ्ना इन्द्रियद्वारा कार्य गर्न सक्दैनौं | इन्द्रियेभ्यः परं मनः | इन्द्रियभन्दा दिव्य मन हुन्छ, र मन भन्दा दिव्य बुद्धि हुन्छ, र बुद्धिभन्दा दिव्य आत्मा हुन्छ | हामीले त्यो बुझ्नु जरुरी छ | अगाडि बढ |

तमाल कृष्ण : "कृष्णको अन्तरङ्गा शक्ति आध्यात्मिक स्तरमा हुन्छिन्, र बहिरङ्गा शक्ति भौतिक स्तरमा हुन्छिन् | तिमी भौतिक र आध्यात्मिक शक्तिको बीचमा छौ, त्यसैले तिम्रो अवस्था तटस्थ छ | अर्को शब्दमा, तिमी कृष्णकी तटस्थ शक्तिमा पर्छौ | तिमीहरु एकैसाथ कृष्णसँग एक र कृष्णभन्दा भिन्न छौ | तिमी आत्मा भएको कारण, तिमी कृष्णभन्दा भिन्न छैनौ, तर तिमी कृष्णको अणु अंश भएको कारण तिमी कृष्णभन्दा भिन्न छौ |'"

प्रभुपाद : यहाँ एउटा शब्द प्रयोग भएको छ, तटस्थ शक्ति | संस्कृतमा तटस्थ शक्ति भनिन्छ | जस्तै जमिनको अन्त्यबाट समुद्र सुरु हुन्छ | त्यहाँ तटस्थ जमिन हुन्छ | तिमी प्रशान्त महासागरको किनारमा जाऊ, तिमीले केहि जमिन पाउँछौ | कहिलेकहीं त्यो पानीले ढाकिन्छ र कहिलेकहीं त्यो खुल्ला जमिन हुन्छ | त्यो तटस्थ हुन्छ | त्यसैगरी, यद्यपि हामी जीवात्मा पनि भगवानसँग मौलिक रुपमा एक छौं, तर कहिलेकहिँ हामी मायाले ढाकिन्छौँ र कहिलेकहिँ हामी मुक्त हुन्छौँ | त्यसैले हाम्रो स्तर तटस्थ हुन्छ | जब हामीले आफ्नो वास्तविक अवस्था थाहा पाउँछौ.... उही कुरा.... जस्तै उही उदाहरण | बुझ्ने प्रयास गर कि ... समुद्रको किनारमा तिमीले जमिनको केहि भाग पाउँछौ, जुन कहिलेकहीं पानीले ढाकिन्छ र फेरी त्यो जमिन हुन्छ | त्यसैगरी हामी पनि कहिलेकहीं माया वा अन्तरङ्गा शक्तिले ढाकिन्छौं र कहिलेकहीं हामी मुक्त हुन्छौँ | त्यसैले, हामीले त्यो मुक्त अवस्था प्राप्त गर्नुपर्छ | जस्तै एउटा खुल्ला जमिनमा कुनै पानी हुँदैन | यदि तिमी समुद्रबाट केही पर जान्छौ भने त्यहाँ कुनै पानी हुँदैन; त्यहाँ केवल जमिन हुन्छ | त्यसैगरी, यदि तिमीले आफुलाई भौतिक चेतनाबाट मुक्त राख्छु भने, आध्यात्मिक चेतना वा कृष्ण भावनाको जमिनमा राख्छौ भने तिमीले आफ्नो स्वतन्त्रता कायम राख्छौ | तर यदि तिमीले आफुलाई तटस्थ स्तरमा राख्छौ भने तिमी कहिले मायाले ढाकिन्छौ र कहिले मुक्त हुन्छौ | हाम्रो अवस्था त्यस्तो छ |