NE/Prabhupada 0365 - इस्कोनलाई मल समाज नबनाऊ-यसलाई मह समाज बनाऊ



Lecture on SB 1.5.9-11 -- New Vrindaban, June 6, 1969


यहाँ नारद मुनिले भन्नुभएको छ " तिमीले वर्णन गरेका छौ....." धर्मादयश च अर्थ​ | " धेरै ग्रन्थहरुमा तिमीले सम्पूर्ण वेदहरुलाई बुझ्ने भाषा पुराणहरुमा विभाजित गरेका छौ |" पुराण भनेको वेदको पुरक हो, यसमा वैदिक ज्ञानलाई प्रकृतिका तीन गुण अनुसार व्याख्या गरिएको छ | हरेक मनुष्य भौतिक प्रकृतिको कुनै एउटा गुणबाट प्रभावित हुन्छ | कोहि अन्धकार, वा अज्ञानतामा छन् | कोहि जोशमा छन् | र कोहि जोश र अज्ञानतामा मिसिएका हुन्छन् | र कोहि प्रकाश, वा शुद्धतामा छन् | सबैजना एकै स्तरमा छैनन् | मानिसहरु विभिन्न वर्गमा अवस्थित हुन्छन् | जस्तै हाम्रा हयग्रीव​को पुस्तकालयमा तिमीले धेरै दार्शनिक पुस्तकहरु पाउन सक्छौ | तर यदि तिमी कुनै साधारण मानिसकहाँ गयौ भने तिमीले केहि अनावश्यक साहित्य, उपन्यास र यौन मनोविज्ञानहरु पाउँछौ | आ-आफ्नो रुची अनुसार | विभिन्न रुची अनुसार | किनकि संसारमा धेरै स्तरका मानिसहरु छन् | यसको बारेमा अर्को श्लोकमा बताइएको छ | नारद मुनिले भन्नुहुन्छ, न यद वचश चित्र​-पदं हरेर यशो जगत्-पवित्रं प्रगृणीत कर्हिचित् तद वायसं तीर्थम उशन्ति मानसा न यत्र हंसा निरमन्त्य उशिक्-क्षयाः (श्री भा १|५|१०) उहाँले व्यासदेवले लेख्नुभएका वेदान्त दर्शन लगायत सम्पूर्ण पुस्तकहरुलाई तुलना गर्दै हुनुहुन्छ | उहाँले त्यसलाई वायसं तीर्थम् भन्नुहुन्छ | वायसं तीर्थम् | वायसं भनेको काग | काग र उनीहरुको आनन्द लिने स्थान | के तिमीले काग देखेका छौ ? भारतमा धेरै कागहरु छन् | तिम्रो देशमा धेरै कागहरु छैनन्..... तर भारतमा कागहरुले विभिन्न नीच कार्यहरुबाट आनन्द लिन्छन् | तिमीले देख्न सक्छौ कि उनीहरुले फोहोर फाल्ने नीच ठाउँमा आनन्द लिन्छन् | उनीहरुले फोहोर भएको स्थानमा जान्छन् र कफ कहाँ छ, पिप कहाँ छ भनेर खोज्छन् | चाहे.......जस्तै झिंगा | उनीहरु मल (फोहोर) मा बस्छन् | माक्षिकं भ्रमरा इच्छन्ति | र माहुरी, उनीहरुले मह लिने कोसिस गर्छन् | जनावरहरुमाझ पनि तिमीले देख्न सक्छौ | माहुरी कहिले पनि मलमा आउँदैन | र साधारण झिंगा, उनीहरु कहिले पनि मह संकलन गर्न जाँदैनन् | त्यसैगरी, पंक्षी, पशु लगायत मानव समाज पनि विभिन्न स्तरमा विभाजित हुन्छ | तिमीले कुनै साधारण मानिस कृष्ण भावनामा आउला भनेर आश गर्न मिल्दैन | तिमीले बुझिरहेका छौ ? उनीहरुले झिंगा हुन तालिम पाएका हुनाले उनीहरु मल नै खान्छन् | तिमीले बुझिरहेका छौ ? अहिलेको आधुनिक शिक्षाले मानिसलाई झिंगा हुन सिकाइरहेको छ, मल खानका लागि | कृष्ण भावनामा त्यस्तो हुँदैन | तिमीले यहाँ त माहुरीको घार बनाउँछौ | जो महको खोजीमा छन्, उनीहरुले बुझ्छन्, " यहाँ केहि छ |" तिमीले बुझिरहेका छौ ? यसलाई मलको समाज नबनाऊ | तिमीले बुझिरहेका छौ ? यसलाई महको समाज बनाऊ | कमसेकम जसले मह खोज्दैछन्, उनीहरुलाई मौका देऊ | मानिसहरुलाई धोका नदेऊ | तब उनीहरु आउनेछन् | यहाँ नारद मुनिले भन्नुभएको छ कि " तिमीले धेरै ग्रन्थहरु सङ्कलन गरेका छौ, त्यो ठिकै छ | यस पछाडीको प्रयोजन के हो ? योजना धर्मादय​: हो | तिमीले धार्मिक सिद्धान्तको शिक्षा दिंदैछौ |" बीसवटा शास्त्र छन्, विंशति धर्म​-शास्त्रा: | यो मनु-संहिता, पराशर​ मुनिको नियम, सामाजिक प्रचलन इत्यादी हो | अरु धेरै शास्त्रहरु छन् | यिनीहरु वास्तवमा धेरै ऋषिहरुले रचना गरेका हुन्, तर व्यासदेवले सहि ढङ्गमा यिनीहरुको सङ्कलन गर्नुभयो | मानिसले यसलाई बुझ्न सक्छन् भनेर उहाँले सङ्कलन गर्नुभयो | निसन्देह उहाँले यी ग्रन्थहरु मानिस समाजमा सदुपयोग गर्नका लागि रचना गर्नुभएको छ | कसरि धार्मिक हुने, कसरि आर्थिक स्तर विकास गर्ने, कसरि मुक्तिको अर्थ बुझ्ने, कसरि सन्तुष्ट हुने, कसरि नियन्त्रित इन्द्रियतृप्ति गर्ने | व्यासदेका ग्रन्थहरुमा तिमीले यी विभिन्न किसिमका...... जस्तै, जुन मानिसहरु मासु खाँदैछन् | उनीहरुलाई पनि व्यासदेवले तामसिक पुराणमा निर्देशन दिनुभएको छ, तामसिक पुराण भनेको अज्ञानता लिप्त तमो गुणी मानिसहरुका लागि हो | व्यासदेवले कसैलाई पनि अस्वीकार गर्नुभएको छैन | उहाँले यी ग्रन्थहरु यसरि रचना गर्नुभएको छ कि जसले यी पुस्तकहरु पढ्छन्...... जस्तै, विद्यालयमा विभिन्न कक्षाका विद्यार्थीहरुका लागि विभिन्न पुस्तकहरु सिफारिस गरिन्छ | त्यसैगरी, व्यासदेवले सम्पूर्ण वैदिक साहित्यहरुलाई पुराणको रुपमा दिनुभएको छ, ताकि कुनै पनि मानिस सर्वोत्तम स्तरसम्म स्तरोन्नति गराउन सकियोस् | उदाहरणका लागि, कुनै मानिसलाई नशा, मासु तथा यौन जीवनको लत लागेको हुन्छ - किनकि यिनीहरु प्राकृतिक झुकाव हुन् | लोके व्यवायामिष​-मद्य​-सेवा नित्या हि जन्तोर न हि तत्र चोदना (श्री भा ११|५|११) कसैलाई सिकाउनु पर्दैन | कसैलाई सम्भोग कसरि गर्ने भनेर सिकाउनु पर्दैन | कसैलाई नशा कसरि गर्ने भनेर सिकाउनु पर्दैन | के तिमीले नशा गर्ने मानिसहरु स्वतः त्यस्तो भएको देखेका छैनौ ? यो कुरा सिकाउने कुनै विश्वविध्यालय छैन | कुनै शैक्षिक प्रणाली छैन " तिमि यो बन.....एलएसडी यसरि लिऊ |" छैन | त्यो प्राकृतिक झुकाव हो | नशा गर्न, रक्सी खान, एलएसडी, गाँजा, पान, धेरै सजिलै सिक्न सकिन्छ | यौन जीवनमा लाग्न.....लोके व्यवाय​.... यिनीहरु प्राकृतिक झुकाव हुन् | तिनीहरु......त्यस्ता कार्य स्वतः गरिन्छ | कुनै प्रश्न आउँदैन.... त्यसोभए ग्रन्थको के महत्व छ त ? ग्रन्थ भनेको नियन्त्रण गर्नका लागि हो | त्यो उनीहरुलाई थाहा छैन | जब व्यासदेवले यौन जीवन विवाह पछि मात्रै गर्न मिल्छ भनेर सिफारिश गर्नुभयो, त्यसको अर्थ प्रतिबन्ध भन्ने हुन्छ | तिमीले यहाँ-त्यहाँ अनियन्त्रित यौन जीवनमा लाग्नु हुँदैन | तिमीसँग एउटी श्रीमती वा एउटा पति हुन्छ, र त्यो पनि नियन्त्रण गरिएको हुन्छ: केवल बच्चा जन्माउनका लागि मात्र तिमी सम्भोग गर | धेरै कुराहरु छन् | मूल विचार भनेको प्रतिबन्धित गर्नु हो | यो होइन कि " मसँग श्रीमती छिन्, यिनी यौन जीवनका लागि यन्त्र हुन् |" होइन, होइन | विवाहको त्यस्तो अर्थ हुँदैन | विवाह त्यस्तो प्रयोजनका लागि होइन | त्यसलाई प्रतिबन्धित गरिएको छ | सम्पूर्ण वैदिक सभ्यता भनेको मानिसलाई दिव्य स्तरमा ल्याउनका लागि हो, सबै नराम्रा आदतलाई शुन्य बनाउनका लागि हो | तर अचानक होइन | क्रमिक रुपमा, गुणको अनुसार | त्यसैगरी, जसलाई मासु खाने लत लागेको छ: " ठिक छ |" वैदिक साहित्यमा भनिएको छ," ठिक छ | तिमी मासु खाऊ | तर काली माताको अघाडी बलि देऊ, त्यसपछि तिमीले खान सक्छौ |" ताकि मासु खाने मानिसले पनि विद्रोह नगरोस् ।