NE/Prabhupada 0373 - भजहू रे मन तात्पर्य



Purport to Bhajahu Re Mana -- The Cooperation of Our Mind

भजहू रे मन श्री-नन्द​-नन्दन​-अभय चरणारविन्द रे | यो भजन कवि गोविन्द दासले गाउनुभएको हो | उहाँले आफ्नो मनलाई सम्बोधन गर्नुभएको छ, किनकि हामीले आफ्नो मनको सहकार्यमा कर्म गर्नुपर्छ | यदि हाम्रो मन चिन्तित छ भने, यदि हाम्रो मनले ध्यानलाई विकेन्द्रित बनाउँछ भने, एउटै कार्यमा एकमग्न हुन धेरै कठिन हुन्छ | यो व्यहवारिक कुरा हो | त्यसैले योग भनेको मनलाई वशमा ल्याउनका लागि हो | यो मनलाई वशमा ल्याउने यान्त्रिक विधि हो | किनकि मनलाई नियन्त्रणमा राखेर यसलाई अविचलित नबनाइकन कसैले पनि अाध्यात्मिक प्रगति गर्न सक्दैन | तर हाम्रो वैष्णव व्यवस्था अनुसार मनलाई सिधै भक्तिमय सेवामा संलग्न गराइन्छ, जसले गर्दा यो भक्तिमय सेवाको क्षेत्रभन्दा बाहिर जान पाउँदैन | यो हाम्रो प्रणाली हो | र यो व्यवहारिक छ | यदि हामीले कृष्णको चरणकमलमा आफ्नो मनलाई केन्द्रित गर्‍यौं भने, अर्चनम् - श्रवणं कीर्तनं विष्णो:, स्मरणं पाद​-सेवनम् (श्री भा ७|५|२३) | पाद​-सेवनम्, तब मन स्वतः नियन्त्रित हुन्छ | योगीहरुले कृत्रिम रुपमा मनलाई नियन्त्रणमा राख्ने कोसिस गर्छन्, तर उनीहरु विफल भइरहेका छन् | धेरै ठुला योगीहरु असफल भएका छन् | कृत्रिम रुपमा गरिने जुनसुकै कार्य पनि पूर्ण हुन सक्दैन | त्यसैले मनलाई नियन्त्रण गर्नका लागि यसलाई राम्रो कार्यमा संलग्न गराउनुपर्छ, तबमात्र मन निकृष्ट शक्तिद्वारा आकर्षित हुँदैन | यो नै सफलताको रहस्य वा विज्ञान हो | गोविन्द दासले आफ्नो मन अभय​-चरण​ भनेर चिनिने कृष्णको चरणकमलमा लगाउने प्रयास गर्दै हुनुहुन्छ | अभय​ भनेको " जहाँ भय हुँदैन |" जस्तै, हामीले आफ्नो पैसा कुनै विश्वसनीय बैंकमा जम्मा गर्छौँं, किनकि हामी सोच्छौ‌ं कि त्यहाँ पैसा गुम्ने भय हुँदैन | त्यसलाई अभय भनिन्छ, "भयरहित," र चरण भनेको "चरणकमल |" गोविन्द दसले आफ्नो मनलाई उपदेश दिंदै हुनुहुन्छ, " मेरो प्यारो मन," हु रे भन्दै मनलाई सम्बोधन गर्नुहुन्छ | भज हू रे मन​ | भज | भज अर्थात् "भक्तिमय सेवामा संलग्न हुनु |" भज हू रे मन श्री-नन्द​-नन्दन​,"नन्दपुत्र कृष्णको सेवामा |" धेरै प्रकारका कृष्णहरु हुनुहुन्छ, तर हामी ती कृष्णको बारेमा भन्दैछौं, जो नन्द महाराज र वसुदेवका पुत्रको रुपमा आउनुभयो | त्यसैले उहाँले भन्नुहुन्छ..... जस्तै, एउटा मानिसलाई उनको नाम, पिताको नामद्वारा पहिचान गरेपछि तिनको पूर्ण पहिचान प्राप्त हुन्छ | त्यसैगरी, उहाँले भन्नुभएको छ- श्री नन्द​-नन्दन​; भजहू रे मन श्री-नन्द​-नन्दन अभय​-चरणारविन्द रे, " उहाँको चरणकमल आश्रय लिनका लागि सुरक्षित स्थान हो |" यस सम्बन्धि भागवतमा धेरै श्लोकहरु छन्: समाश्रिता ये पद​-पल्लव​-प्लवम महत्-पदं पुण्य​-यशो मुरारे: महत्-पदम्, " कृष्णको चरणकमलमा सम्पूर्ण भौतिक सृष्टि आश्रित छ |" यदि यत्रो विशाल सृष्टि त्यहाँ आश्रित हुन सक्छ भने मजस्तो एउटा तुच्छ जीवले कृष्णको चरणकमलको शरण लियो भने, मेरो सुरक्षा निश्चित हुन्छ | भजहू रे मन श्री-नन्द​-नन्दन​, अभय चरणारविन्द रे, दुर्लभ मानव​-जनम सत्-सङ्गे, तरोहो ए भव​-सिन्धु रे | दुर्लभ, " यो मानव जीवन धेरै दुर्लभ छ |" दुर्लभ मानव - जनम | हाम्रो मनलाई कृष्णको चरणकमलमा स्थिर पार्नका लागि हामी भक्तहरुको सङ्गमा रहनु जरुरि हुन्छ | दुर्लभ मानव​-जनम सत्-सङ्गे | सत्-सङ्गे भनेको "भक्तहरुको सङ्गमा |" यदि हामी भक्तहरुको सङ्गमा रहँदैनौं, यदि हामीले स्वतन्त्र भाव राख्दै आफ्नो मनलाई कृष्णको चरणकमल एकाग्र पार्ने प्रयास गर्‍यौं भने, यो सम्भव हुँदैन | यो विफल हुन्छ | त्यसैले उहाँ भन्नुहुन्छ: सत्-सङ्गे, " भक्तहरुको सङ्गमा |" तरोहो ए भव​-सिन्धु रे, " जीवनको वास्तविक उद्देश्य भनेको अज्ञानताको समुद्रबाट तर्नु हो |" यदि हामीले भक्तहरुको सङ्गमा रहेर कृष्णको चरणकमलमा मनलाई एकाग्र पार्छौं भने, हामीले सजिलै अज्ञानताको समुद्र वा भौतिक अस्तित्व पार गर्न सक्छौं | त्यसोभए म अहिले के गर्दै छु त ? वर्तमान समयमा म: शीत आतप बात बरिषण​, ए दिन जामिनी जागि रे | म भौतिक कार्यहरुमा संलग्न छु," म कठोर चिसोको वास्ता गर्दिनँ, म प्रखर गर्मिको वास्ता गर्दिनँ, म रातको निद्राको वास्ता गर्दिनँ, म दिन-रात परिश्रम गरिरहेको छु |" सीत आतप बात बरिषण​, ए दिन जामिनी जागि रे | र केका लागि ? कृपण​, भिपले सेविनु कृपण दुरजन​, "कृपण दुर-जन​हरुको सेवाका लागि |" कृपण दुरजन​ अर्थात् बाहिरी मानिसहरु | तथाकथित भौतिक समाज, साथी, प्रेम इत्यादिहरु वास्तवमा बाहिरी मानिसहरु हुन् | उनीहरुले मलाई वास्तविक अाध्यात्मिक प्रगति गर्न मद्दत गर्दैनन् | तर हामी समाज, मित्रता, राष्ट्रवाद, समाजवाद लगायत धेर कुराहरुको सेवामा संलग्न छौं | हाम्रो संलग्नता धेरै स्थानमा छन्, तर त्यो सबै बिफले हुन् | बिफले भनेको "परिणामविहिन |" परिणामस्वरूप मैले कुनै प्रकारको मानसिकता सिर्जना गर्छु, तथाकथित देश, समाज, परिवारहरुलाई सुरक्षा दिनका लागि, र मृत्युको समयमा मैले आफ्नो मानसिकता अनुसार अर्को शरीर स्वीकार गर्नुपर्छ | मानिसहरुले धेरै निच उपायहरु स्वीकार गरिरहेका छन्, तथाकथित समाज, मित्रता र प्रेमका कार्यहरु अघि बढाउनका लागि | परिणामस्वरूप उसले यस्तो मानसिकता सिर्जना गर्छ, जुन मानवस्तरको जस्तो हुँदैन, र अर्को जीवनमा आफ्नो मानसिकता अनुसारको शरीर प्राप्त गर्न ऊ बाध्य हुन्छ | त्यसैले कृपण दुरजन​ | कृपण भनेको " लोभी |" उनीहरुले जीवनको वास्तविक आवश्यकताको बारेमा प्रबुद्ध हुनका लागि मलाई कुनै बुद्धि दिंदैनन्, तापनि हामी त्यस्ता दुर्जन "बाहिरिया" हरुको सेवामा संलग्न भइरहेका छौं | बिफले सेविनु कृपण दुरजन​, चपल सुख​ऌअब लागिऽ रे, र त्यसमा थोरै खुसी छ | अन्यथा कसरी एउटा मानिसले दिन-रात यति परिश्रम गर्न सक्छ | त्यो खुसी भनेको यौन-आनन्द, चपल​, " चन्चल |" विद्यापतिले गाउनुहुन्छ, ततल सैकते वरि बिन्दु-सम​, " त्यो खुसी मरुभूमिमा एक थोपा पानी समान हुन्छ |" मरुभूमिमा पानिको आवश्यकता हुन्छ, तर यदि तिमीले थोरै पनि लिएर "ल पानी लिऊ" भन्दै छार्कियौ भने त्यो पानीको के नै अर्थ हुन्छ ? त्यसैगरी, हामी पनि शाश्वत खुसीका पछाडी लागिरहेका छौं, यी समाज, मित्र र प्रेमले हामीलाई के दिन सक्छन् ? हामीले खुसी प्राप्त गर्नका लागि केवल आफ्नो समय खेर फालिरहेका छौं, यो तथाकथित भौतिक जीवनशैलीमा, समाज, मित्र र अन्य धेरै कुरामा खेर फालिरहेका छौं | बिफले | बिफले भनेको " बिना कुनै राम्रो परिणाम |" बिफले सेविनु कृपण दुरजन​, चपल सुख​-लब लागिऽ रे | "ठिकै छ, म व्यक्तिगत रुपमा रमाइलो गर्नेछु | मसँग जवानी छ, म पैसा कमाउँछु, र मलाई परिवारको मतलब लाग्दैन |" वास्तवमा अहिलेको समयमा यहि भइरहेको छ | कसैलाई पनि आफ्नो परिवारको वास्ता लाग्दैन, तर ऊ केवल आफ्नो पालनका लागि व्यस्त छ, आफ्नो यौवन, तथा अन्य धेरै कुराहरु उपयोग गर्नका लागि | त..... कवि गोविन्द दासले सल्लाह दिंदै हुनुहुन्छ, "मेरो प्यारो मन, म स्वीकार गर्छु कि तिमीसँग यौवन छ, तिमीले रमाइलो गर्न सक्छौ |" त्यसैले तिमीले भन्दैछौ, ए धन यौवन पुत्र परिजन​, इथे कि आछे परतीति रे, "यो पैसा कमाएर संकलन गर्ने; र यो रमाइलो यौवन |" ए धन यौवन पुत्र परिजन​, र समाज, मित्रता एवं प्रेम मार्फत, के तिमीलाई लाग्छ कि यसमा कुनै खुसी वा दिव्य आनन्द छ ? इथे कि आछे परतीति रे | " यो कमलको पातमा भएको पानी जस्तै हो |" कमल​-दल​-जल​, जीवन टलमल​ | "यो पानीको अस्तित्व क्षणिक हुन्छ, कुनै पनि समयमा तल झर्न सक्छ |" वास्तवमा, हाम्रो यौवनको रमाइलो वा पैसा कमाउने कार्य कुनै पनि समयमा अन्त्य हुन सक्छ | वास्तवमा तिमीले त्यस्तो प्रकारको खुसीमा विश्वास गर्न सक्दैनौ | त्यो राम्रो हुँदैन किनकि त्यो कुनै पनि समयमा अन्त्य हुन सक्छ | यी मानिसहरु गगनचुम्बी भवनहरु बनाउन, बैंक खाता खोल्न, राम्रा गाडीहरु किन्न, र अरु धेरै कुराहरु भोग्न व्यस्त छन्, तर उनीहरु यो भुलिरहेका छन् कि यो कुनै पनि समयमा अन्त्य हुन सक्छ | कुनै पनि समयमा | यो कमल​-दल​-जल जस्तै हुन्छ, "कमलको पातमा पानी |" यो रहिरहन सक्दैन, यो खस्न सक्छ, कुनै पनि क्षणमा | यो उदाहरण धेरै राम्रो छ | त्यसैले उहाँले सल्लाह दिंदै हुनुहुन्छ, श्रवण कीर्तन​​, उहाँले आफ्नो मनलाई निर्देशन दिंदै हुनहुन्छ कि, "यसो नगर, यसो नगर ," धेरै नकारात्मक कुराहरु छन् | तब अर्को प्रश्न उठ्न सक्छ, मनले गोविन्द दसलाई सोध्न सक्छ, " वास्तवमा तिमी के गर्न चाहन्छौ ? तिमीले यी सबै भौतिक कार्यहरुलाई नकारेका छौ, त्यो ठिकै छ, तर तिम्रो सकारात्मक प्रस्ताव के हो ?" उहाँ भन्नुहुन्छ,"मेरो सकारात्मक प्रस्ताव यो हो: श्रवण कीर्तन स्मरण वन्दन​, पाद​-सेवन दास्य रे, पूजन सखी-जन आत्म​-निवेदन​, गोविन्द दास​-अभिलाष रे।" "मेरो प्यारो मन, मेरो इच्छा यहि छ कि कृपया तिमी मलाई अभय-चरणारवीन्द कृष्णका बारेमा श्रवण गर्नका लागि मद्दत गर | र मलाई उहाँको महिमाको बारेमा कीर्तन गर्न देऊ, श्रवण किर्तन | मलाई स्मरण गर्न देऊ, उहाँको चरणकमलको सेवा गर्न देऊ, उहाँसँग मित्रता गाँस्न देऊ | मसँग भएका सम्पूर्ण वस्तुहरु उहाँलाई अर्पण गर्न देऊ | यी मेरा इच्छाहरु हुन् | यदि तिमीले ममाथि दया गरेर मसँग सहकार्य गर्‍यौ भने म यसो गर्न सक्नेछु |" त यो धेरै शिक्षाप्रदायक भजन हो, मानव जीवनको उद्देश्यको सार हो, र जसले यो सिद्धान्त अनुसरण गर्छ, उसले वास्तवमा दिव्य खुसीको अनुभव गर्नेछ |