NE/Prabhupada 0807 - ब्रह्मास्त्र मन्त्रद्वारा बन्छ । त्यो सूक्ष्म विधि हो



Lecture on SB 1.7.26 -- Vrndavana, September 23, 1976


हामीले ब्रह्मास्त्रका बारेमा छलफल ग¥यौँ । ब्रह्मास्त्र आधुनिक आणविक अस्त्र अर्थात् बमसँग लगभग समान हुन्छ, तर... बम रसायनहरूबाट बनेको हुन्छ तर यो ब्रह्मास्त्र मन्त्रबाट बन्दछ । सूक्ष्म तरिकाले त्यो बन्दछ । आधुनिक विज्ञान सूक्ष्म अस्तित्वको त्यो सीमासम्म पुगेको छैन । त्यसकारण, तिनीहरू आत्माको देहान्तरण कसरी हुन्छ भन्ने बुझ्न सक्दैनन् । आधुनिक विज्ञानसँग पूर्ण ज्ञान छैन । अपूर्ण ज्ञान मात्र छ । तिनीहरू स्थूल शरीर देख्दछन् तर तिनीहरूसँग सूक्ष्म शरीरबारे कुनै ज्ञान छैन । तर सूक्ष्म शरीरको अस्तित्व छ । जसरी हामी मनलाई देख्न सक्दैनौँ, तर हामीलाई थाहा छ कि सबैसँग मन हुन्छ । तिमी मेरो मनलाई देख्न सक्दैनौ, तर तिमीलाई थाहा छ कि मसँग मन छ । मन, बुद्धि र अहंकार । मेरो धारणा, पहिचान, “म”, भन्ने धारणा सबैसँग छ । त्यसलाई अहंकार भनिन्छ । र मेरो बुद्धि तथा मेरो मनलाई न त तिमी देख्न सक्छौ न त म देख्न सक्छु । त्यसकारण, कसरी मन, बुद्धि तथा व्यक्तिगत पहिचान अथवा अहंकारले आत्मालाई अर्को शरीरमा लैजान्छ, तिनीहरू देख्न सक्दैनन् । तिनीहरू यो देख्न सक्दैनन् । तिनीहरू स्थूल शरीर समाप्त भएको देख्दछन्, अनि सबै समाप्त भएको ठान्दछन् । स्थूल शरीर जलेर खरानी हुन्छ, त्यसकारण, तिनीहरू सोच्दछन् कि सबै कुरा समाप्त भयो । भस्मी भूतस्य देहस्य कुतः पुनरागमनो भवेत् । (चार्वाक मुनि) नास्तिक वर्गका मानिसहरूले यस्तो सोच्दछन् । आफ्नो अल्प ज्ञानका कारणले तिनीहरू यस्तो सोच्दछन् । “म देख्दछु कि शरीर अब जलेर खरानी भएको छ । त्यसपछि, आत्मा कहाँ जान्छ ?” त्यसकारण, तिनीहरू भन्दछन्, “आत्माको अस्तित्व छैन, भगवान्को अस्तित्व छैन, यो सबै परिकल्पना हो ।” तर यो सत्य होइन, यो सत्य होइन । सत्य त यो हो कि, स्थूल शरीर समाप्त भएतापनि सूक्ष्म शरीर रहिरहन्छ । मनो बुद्धिरहंकारः । भूमिरापोऽनलो वायुः खं मनो बुद्धिर् एव च (भगवद्गीता ७।४) अपरेयमितस्तु विद्धि मे प्रकृतिं पराम् । त्यसकारण, सूक्ष्म वस्तुहरूको क्रिया र प्रतिक्रिया, सूक्ष्म पदार्थ... मन पनि पदार्थ हो तर यो सूक्ष्म पदार्थ हो, अत्यन्त सूक्ष्म । आकाशजस्तै । आकाश पनि पदार्थ हो, तर यो अत्यन्त सूक्ष्म हुन्छ । आकाशभन्दा सूक्ष्म मन हुन्छ र मनभन्दा पनि सूक्ष्म बुद्धि हुन्छ । र बुद्धिभन्दा पनि सूक्ष्म मेरो अहंकार हुन्छः “म” भन्ने धारणा नै अहंकार हो । त्यसकारण, तिनीहरूसँग कुनै ज्ञान छैन । त्यसकारण...तिनीहरू स्थूल वस्तुहरू प्रयोग गरी शस्त्र–अस्त्र अथवा आणविक बमको उत्पादन गर्दछन् । भूमिरापोऽनलो— रसायनहरू, यी सूक्ष्म हुन्छन् । तर यो ब्रह्मास्त्र स्थूल हुँदैन । ब्रह्मास्त्र पनि भौतिक हो तर यो सूक्ष्म वस्तुहरूः मन, बुद्धि तथा अहंकारबाट बनेको हुन्छ । त्यसकारण, अर्जुन कृष्णलाई सोध्दै हुनुहुन्छ,“म जान्दिनँ कि यो कहाँबाट आइरहेको छ, कहाँबाट यस्तो उच्च ताप आइरहेको छ ?” यहाँ उल्लेख गरिएको छ, तेजः परमदारुणम् । यो ताप अत्यन्त उच्च छ, असहनीय छ । त्यसकारण, हामीले आचार्यलाई सोध्नुपर्दछ । कृष्ण नै सर्वश्रेष्ठ आचार्य हुनुहुन्छ । त्यसकारण, अर्जुन कृष्णलाई सोध्दै हुनुहुन्छ, किमिदंस्वित्कुतोवेतिः “प्रिय कृष्ण, कहाँबाट यो ताप आइरहेको छ ?” किं इदम् । देव–देव । अर्जुन किन कृष्णलाई सोध्दै हुनुहुन्छ ? किनभने कृष्ण देवदेव हुनुहुन्छ ।