NE/Prabhupada 0814 - भगवानले केहि पनि गर्नु आवश्यक छैन । उहाँ आफैंमा परिपूर्ण हुनुहुन्छ



741012 - Lecture SB 01.08.32 - Mayapur


निताइः “कसैले भन्दछन् कि धार्मिक राजाहरूको महिमा गाउनका लागि अजन्माको जन्म भएको छ, र अरुहरू भन्दछन् कि उहाँले आफ्ना सबैभन्दा प्रिय भक्तमध्येका एक महाराज यदुलाई प्रसन्न पार्नका लागि जन्म लिनुभएको छ । मलय पर्वतमा चन्दनको वृक्ष प्रकट भएझैँ हजुर यदुको परिवारमा प्रकट हुनुभएको छ ।”

प्रभुपादः केचिदाहुरजं जातं पुण्यश्लोकस्य कीर्तये यदोः प्रियस्यान्ववाये मलयस्येव चन्दनम् ।। (श्रीमद्भागवतम् १।८।३२) त्यसकारण, कृष्णलाई केही पनि गर्नु आवश्यक छैन । उहाँ सर्वेश्वर हुनुहुन्छ । किन उहाँले केही गर्नुपर्छ र ? न तस्य कार्यं करणम् । यो वेदहरूको परिभाषा होः “भगवान्ले केही पनि गर्नु आवश्यक छैन । उहाँ आफैँमा परिपूर्ण हुुनुहुन्छ । न त उहाँको कुनै महत्वाकांक्षा नै छ ।” जस्तै, हामी यो जमिन, त्यो जमिन खरिद गर्नेबारे सोचिरहेका छौँ । कृष्णले किन त्यस्तो सोच्नुहुनेछ ? किनभने प्रत्येक जमिन कृष्णकै हो । उहाँले खरिद गरिरहनुपर्ने वस्तु केही पनि छैन । सबैकुरा त्यहीँ छ । त्यसोभए उहाँ किन आउनुहुन्छ ? कृष्ण स्वयं भन्नुहुन्छ । कृष्ण आउनुहुन्छः परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् (भगवद्गीता ४।८) | कृष्ण आफ्ना भक्तहरूलाई सुरक्षा दिन चाहनुहुन्छ, भक्तहरूको गरिमा बढाउन चाहनुहुन्छ । त्यो उहाँको अभिप्राय हो । नत्र उहाँको अरु कुनै उद्देश्य छैन । उहाँलाई यो संसारमा केही पनि गर्नु छैन । जस्तै, कृष्णको सेवा गर्नुबाहेक भक्तको अरु कुनै उद्देश्य हुँदैन, ऊ केवल कृष्ण प्रसन्न हुनुभएको हेर्न चाहन्छ, त्यसैगरी, कृष्णले गर्नुपर्ने दायित्व केही पनि छैन, तर उहाँ आफ्ना भक्तहरूको गरिमा बढाउन चाहनुहुन्छ । यसलाई आदानप्रदान भनिन्छ । ये यथा मां प्रपद्यन्ते (भगवद्गीता ४।११) यदि तपाईं...यदि तपाईं भगवान्को महिमा गाउनका लागि आफ्नो जीवन समर्पण गर्नुहुन्छ भने, भगवान् पनि तयार हुुनुहुन्छ । उहाँको उद्देश्य तपाईंको गरिमा बढाउनु हो । नत्र, उहाँको अरु कुनै उद्देश्य छैन । त्यसकारण, यहाँ भनिएको छ, प्रियस्य, यदोः प्रियस्य । कृष्णको सेवा गरेको कारणले महाराज यदु भगवान् कृष्णका अत्यन्त प्रिय बन्नुभयो । प्रियस्य । कृष्ण आफ्नो भक्तको अत्यन्त प्रिय हुनुभएझैँ, भक्तहरू पनि कृष्णका अत्यन्त, अत्यन्त प्रिय हुन्छन् । यो सन्दर्भमा एउटा अर्को पनि श्लोक छ, स्वपादमूलं भजतः प्रियस्य । स्वपादमूलं भजतः प्रियस्य “यदि कोही कृष्णको चरणकमलको सेवामा संलग्न छ भने, ऊ कृष्णको अत्यन्त, अत्यन्त प्रिय बन्दछ । “स्वपादमूलं भजतः प्रियस्य । भजतः, जो केवल सेवा गर्नमा संलग्न छ, कृष्णको चरणकमलमा — उसको अरु कुनै दायित्व हुँदैन—ऊ कृष्णको प्रिय बन्दछ । र जब तपाईं कृष्णको प्रिय बन्नुहुन्छ, त्यसपछि तपाईंका सम्पूर्ण समस्याहरू समाधान हुनेछन् । जस्तै, यदि तपाईं एउटा अत्यन्त महान् तथा धनी मानिसको प्रिय पुत्र हुनुहुन्छ भने तपाईंलाई के समस्या पर्दछ ? तपाईंको स्वतः हेरविचार हुन्छ । किनभने यदि ऊ एउटा महान् व्यक्तिको प्रिय पुत्र बनेको छ भने उसलाई के समस्या हुन्छ ? केही समस्या पर्दैन । त्यसैगरी, हामी पनि कृष्णको अत्यन्त प्रिय बन्नुपर्दछ । त्यसपछि, हाम्रा सबै समस्याहरूको समाधान हुनेछ । यी बदमाशहरू, कर्मीहरू, तिनीहरू यो जान्दैनन् । तिनीहरू आफ्नै प्रयासले सुखी हुन चाहन्छन् । त्यस्ता मानिसहरूलाई कर्मी भनिन्छ । तिनीहरू अत्यन्त कठोर परिश्रम गरिरहेका छन्— त्यही कुरा—धेरै सुखी हुनका लागि । र भक्त पनि सुखी हुने प्रयास गरिरहेको हुन्छ । सबैजना प्रयास गरिरहेका छन् । सुखं आत्यन्तिकं यत् तद् अतीन्द्रिय–ग्राह्यम् (भगवद्गीता ६।२१) । सबैजना सुखी हुने प्रयास गरिरहेका छन् किनभने सुखी हुनु भनेको हाम्रो स्वाभाविक प्रवृत्ति हो । आनन्दमयोऽभ्यासात् (वेदान्त–सूत्र १।१।१२) । तर कर्मी, ज्ञानी तथा योगीहरू, तिनीहरू पूर्ण रुपमा सुखी हुने तरिका जान्दैनन् । तिनीहरू आफ्नै प्रयास गरिरहेका छन् । कर्मीहरू धन आर्जन गर्नका लागि दिनरात कठोर परिश्रम गर्ने प्रयास गर्दछन् । “जसरी भएपनि, कालो धन होस् वा सेतो धन होस् । धन कमाएर ल्याऊ । मसँग राम्रो कार हुनैपर्दछ, राम्रो घर तथा राम्रो बैंक खाता हुनुपर्दछ ।” यस्ता मानिसलाई कर्मी भनिन्छ । र ज्ञानी, जब ऊ काम गरेर आजित हुन्छ, जब उसले बुझ्दछ कि “यो कडा मेहनत तथा बैंक खाताले मलाई सुखी बनाउन सकेन, त्यसकारण, यो गलत हो, यी सबै गतिविधिहरू व्यर्थ छन्, म को हूँ...” ब्रह्म सत्यं जगत् मिथ्या । त्यसैले, तिनीहरू आजित हुन्छन् र ब्रह्मतिर आकर्षित हुन्छन्....ब्रह्म सत्यम् ।