NE/Prabhupada 0825 - मनुष्य जीवनमा हामीले केवल कृष्णको चरणकमलको प्राप्तिका लागि प्रयास गर्नुपर्दछ



741102 - Lecture SB 03.25.02 - Bombay


वेदमा उल्लिखित छ, नित्यो नित्यानां चेतनश्चेतनानाम् एको बहूनां यो विदधाति कामान् (कठोपनिषद २।२।१३) । भगवान्को ऐश्वर्य के हो ? त्यो होः एको बहूनां यो विदधाति कामान् । भगवान् एकवचन हो र नित्यो नित्यानां र नित्यानां भनेको बहुवचन हो । र हामी जीवहरू बहुवचन हौँ । जीवभागः सविज्ञेयः सचानन्त्याय कल्पते । जीवहरूको संख्या कति छ, त्यसको कुनै सीमा छैन । कसैले पनि गणना गर्न सक्दैन । अनन्त । अनन्त भनेको त्यसको सीमा नै छैन,“लाखौँ अथवा हजारौँ ।” तपाईंले गणना गर्न सक्नुहुन्न । त्यसकारण, यी सबै जीवहरू, हामी सबै त्यही एकबाट संरक्षित छौँ । यो वेदले दिएको ज्ञान हो । एको बहूनां यो विदधाति कामान् । जस्तै, हामी आफ्नो परिवारको पालनपोषण गर्दछौँ । एउटा मानिसले कमाउँछ र उसले आफ्नो परिवार, श्रीमती, बालबच्चा, नोकरचाकर, आश्रित जनहरू, कामदार र अन्य अनेक मानिसहरूको पालनपोषण गर्दछ । त्यसैगरी, एउटा भगवान्ले सम्पूर्ण जीवात्माहरूको पालनपोषण गरिरहनुभएको छ । तपाईंलाई थाहा छैन कि जीवात्माहरूको संख्या कति छ । अफ्रिकामा लाखौँ हात्तीहरू पाइन्छन् । र तिनीहरू एकपटकमा ४० के.जी. घाँस खान्छन् । अर्थात् तिनीहरूको पनि पालनपोषण भइरहेको छ । र सानो कमिलाको पालनपोषण भइरहेको छ । संसारमा ८४ लाख प्रकारका शरीरहरू पाइन्छन् । तिनीहरूलाई कसले पालनपोषण गरिरहेको छ ? भगवान् अर्थात् एकः उहाँले गरिरहनुभएको छ । एको बहूनां यो विदधाति कामान् । यो सत्य हो । त्यसोभए, उहाँले हाम्रो पालनपोषण किन गर्नुहुनेछैन र ? विशेषगरी जो भक्त छन्, जसले भगवान्को चरणकमलको आश्रय लिएका छन्, केवल भगवान्को सेवाको लागि अन्य सम्पूर्ण वस्तुहरू छोडेर उहाँको आश्रय लिएका छन् । ठीक हाम्रो कृष्णभावनामृत अभियानजस्तै । हामीले १०० भन्दा धेरै हरे कृष्ण केन्द्रहरू खोलेका छौँ । र एउटा केन्द्र... हामीले भर्खरै नवभारत टाइम्सबाट एउटा लेख पढिरहेका थियौँ । त्यो लेखमा ती केन्द्रहरू कसरी राम्रोसँग सञ्चालन भइरहेका छन् भन्ने बारेमा लेखिएको थियो । तर हामीले कुनै व्यापार–व्यवसाय गरेका छैनौँ । हाम्रो कुनै पनि आम्दानीको स्रोत छैन । हाम्रो एउटै मात्र आम्दानीको स्रोत छ — त्यो हो कृष्णको आश्रय । समाश्रिता ये पदपल्लवप्लवम् । त्यसकारण, शास्त्रले भन्दछ कि “तिमीले कृष्णको शरण लिऊ ।” कृष्ण स्वयं पनि त्यही सत्य बताउनका लागि आउनुहुन्छ । सर्वधर्मान् परित्यज्य मामेकं शरणं ब्रज । (भगवद्गीता १८।६६) उहाँले कहिल्यै पनि भन्नुभएन कि “तिमी यो गर र तिमी त्यो गर । त्यसपछि, म तिम्रो पालनपोषण गर्नेछु ।” होइन । अहं त्वां सर्वपापेभ्यो मोक्ष्ययिष्यामिः “म तिम्रो पालनपोषण गर्ने मात्र होइन, साथसाथै, म तिमीलाई पापकर्महरूको कर्मफलबाट पनि मुक्त गरिदिनेछु ।” यहाँ कृष्णले यति धेरै आश्वासन दिनुभएको छ । त्यसकारण, शास्त्रले यो पनि भन्दछ, तस्यैव हेतोः प्रयतेत को विदो न लभ्यते यद् भ्रमतां उपर्युधः (श्रीमद्भागवत १।५।१८) तस्यैव हेतोः प्रयतेत को विदोः । कोविद भनेको बुद्धिमान्, अत्यन्त बुद्धिमान् मानिसलाई जनाउँदछ । उसले केका लागि प्रयास गर्नुपर्दछ ? तस्यैव हेतोः कृष्णको चरणकमलको आश्रय लिनका लागि । मनुष्य जीवनमा हामीले केवल कृष्णको चरणकमलको प्राप्तिका लागि प्रयास गर्नुपर्दछ । हाम्रो एक मात्र उद्देश्य यही हुनुपर्दछ ।