NE/Prabhupada 0846 - भौतिक भनेको आध्यात्मिक जगतको छायाँ हो



741221 - Lecture SB 03.26.09 - Bombay


निताइः “देवहूतिले भन्नुभयोः हे भगवान्, कृपया मलाई भगवान् तथा उहाँ शक्तिहरूका स्वभावको वर्णन गर्नुहोस्, किनभने यी दुवै यो प्रकट तथा अप्रकट सृष्टिका कारणहरू हुन् ।”

प्रभुपाद: प्रकृतेः पुरुषस्यापि लक्षणं पुरुषोत्तमब्रूहि कारणयोरस्य सद्–असच्चयद्–आत्मकम् (श्रीमद्भागवतम् ३।२६।९) । त्यसकारण, कपिलदेवलाई यहाँ पुरुषोत्तम भनेर सम्बोधन गरिएको छ । पुरुषोत्तम । जीवात्माहरू, परमात्मा तथा भगवान् । जीवात्माहरूलाई कहिलेकाहीँ पुरुष भनिन्छ किनभने पुरुष भनेको भोक्ता हो । त्यसकारण, आफू भोक्ता नभएतापनि जीवात्माहरू यो भौतिक संसारको भोग गर्न चाहन्छन् । हामीले अनेकौँ पटक वर्णन गरेका छौँ । जीवात्माहरू पनि भगवान्का प्रकृति हुन्, तापनि ऊ भोग गर्न चाहन्छ । यसलाई भ्रम भनिन्छ । त्यसकारण, जीवात्माको भोग गर्ने प्रवृत्ति भएको कारणले उसलाई पुरुष अर्थात् भ्रमपूर्ण पुरुष पनि भन्न सकिन्छ । वास्तविक पुरुष त भगवान् हुनुहुन्छ । पुरुष भनेको भोक्ता हो । भोक्ता अर्थात् वास्तविक भोक्ता भगवान् श्रीकृष्ण हुनुहुन्छ । कृष्ण भन्नुहुन्छः भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम् (भगवद्गीता ५।२९) । त्यसकारण, देवहुति पुरुष तथा प्रकृतिका गुणहरूको स्पष्टीकरण चाहनुहुन्छ । त्यसकारण, पुरुष एक हुनुहुन्छ तर प्रकृति अर्थात् शक्तिहरू अनेक छन् । प्रकृतिलाई शक्ति पनि भनिन्छ । जस्तै, हामीसँग श्रीमान् तथा श्रीमतीसम्बन्धी व्यावहारिक अनुभवहरू छन् । श्रीमतीलाई शक्ति भनेर सम्बोधन गरिन्छ । श्रीमान्ले दिनरात अत्यन्त कठोर परिश्रम गर्दछ तर जब ऊ घर फर्कन्छ, तब उसकी श्रीमतीले भोजन, निद्रा, मैथुन आदि अनेक तरिकाद्वारा उसलाई सुख–सुविधा प्रदान गर्दछिन् । विशेषगरी कर्मीहरूले आफ्नी श्रीमतीको व्यवहार तथा सेवाद्वारा शक्ति प्राप्त गर्दछन् । नत्र कर्मीहरू त्यस्तो कठोर परिश्रम गर्न सक्दैनन् । जे होस, शक्तिको सिद्धान्त यहाँ पनि लागू हुन्छ । त्यसैगरी, भगवान्सँग पनि अनेक शक्तिहरू छन् । वेदान्त–सूत्रबाट हामी बुझ्दछौँ कि भगवान्, सम्पूर्ण वस्तुहरूका आदि–स्रोत हुनुहुन्छ, ब्रह्म....अथातो ब्रह्म जिज्ञासा । त्यो ब्रह्म....एउटा श्लोकमा श्रील व्यासदेव वर्णन गर्नुहुन्छ किः जन्माद्यस्य यतः “ब्रह्मन् अर्थात् सर्वोच्च परमसत्य त्यो हो जसबाट सम्पूर्ण कुराहरू उत्पत्ति हुन्छन् । (श्रीमद्भागवतम् १।१।१) ।” त्यसकारण, जबसम्म यो सिद्धान्त लागू हुन्छ कि ब्रह्म अर्थात् परमसत्य, पनि शक्तिसम्पन्न पारिन्छ अर्थात् आफ्ना शक्तिहरूद्वारा उहाँ कर्म गर्नुहुन्छ; नत्र यो भौतिक संसारमा यो सिद्धान्त कसरी लागू हुन्थ्यो र ? भौतिक संसार भनेको छाँया अर्थात् आध्यात्मिक जगतको परावर्तन मात्र हो । यदि आध्यात्मिक जगतमा कुनै वस्तुको वास्तविक अस्तित्व हुँदैन भने यो भौतिक संसारमा त्यसको परावर्तित रूप देख्न सम्भव हुँदैन ।