NE/Prabhupada 0849 - हामी भगवानलाई देख्न चाहन्छौं तर हामी स्वीकार्दैनौं कि हामी योग्य छैनौं



731231 - Lecture SB 01.16.03 - Los Angeles


प्रद्युम्नः अनुवादः “महाराज परीक्षितले कृपाचार्यलाई आफ्ना गुरुका रूपमा मनोनयन गरेपछि, परीक्षित महाराजले गंगातटमा तीनओटा अश्वमेध यज्ञहरू सम्पन्न गर्नुभयो । सहभागीहरूलाई पर्याप्त उपहारहरू प्रदान गरेर यी यज्ञहरू सम्पन्न गरिएका थिए । र यी यज्ञहरूमा साधारण मानिसले समेत देवताहरूलाई देख्न सक्दथे ।” (श्रीमद्भागवतम् १।१६।३) ।

प्रभुपादः आजभोलि मानिसहरू प्रश्न गर्दछन् “हामी किन देवताहरूलाई देख्दैनौँ ?” यसको उत्तर यो हो, “खोई, तिमीले कहाँ अश्वमेध यज्ञ गरेका छौ ?” देवताहरू त्यति सस्तो हुनुहुन्न । राजा अथवा राष्ट्रपतिजस्तै । साधारण र सस्तो मानिसजस्तै राजा के जहाँसुकै आउँँछन् र, ? अहँ आउँदैनन् । राजा अथवा देवतागण अथवा नारद मुनिजस्ता महान् ऋषिहरू कहाँ आउँछन्, उहाँहरू जहाँ आउनुहुन्छ त्यो स्थान निश्चय नै आउन लायक विशेषतायुक्त हुनुपर्दछ । त्यतिबेला त्यहाँ अन्तर्लोकीय–आवागमनको सुविधा थियो । जस्तै, अर्जुन स्वर्गीय लोकहरूमा जानुभएको थियो, त्यसैगरी यस्ता अश्वमेधादि यज्ञहरूमा, यदि ती यज्ञहरू महाराज परीक्षित तथा महाराज युधिष्ठिरजस्ता महान् राजाहरूले आयोजना गरेको भए, आमन्त्रित भएर देवताहरू अवश्य आउने थिए । उहाँहरूको आगमन हुने मात्र होइन, तर सम्पूर्ण साधारण मानिसहरूले समेत उहाँहरूलाई देख्न सक्दथे । त्यसकारण, यहाँ भनिएको छ, यत्राक्षि–गोचराः, देवायत्राक्षि–गोचराः । हामी अनेक वस्तुहरू देख्न सकेको भनेर घमण्ड गर्दछौँ तर देख्नका लागि सुयोग्य नबनेसम्म हामीले धैर्य गर्नुपर्दछ । यो होइन कि म मनोमानी ढंगले देख्न चाहन्छु, “हे भगवान्, कृपया मेरो सामु प्रकट हुनुहोस् । म हजुरको दर्शन गर्न चाहन्छु ।” भगवान्...तपाईंको दृष्टि क्षमताअनुसार भगवान् तपाईंसामु आउनुहुन्छ । भगवान् अत्यन्त दयालु हुनुहुन्छ । उहाँ मन्दिरभित्र विराजमान हुनुहुन्छ । र तपाईं हेर्दै जानुहोस् । त्यसपछि, तपाईंले बोध गर्नुहुनेछ कि उहाँ भगवान् हुनुहुन्छ । त्यसकारण, भगवान् अथवा देवता सबैजना अक्षि–गोचराः हुन सक्नुहुन्छ, तपाईंको दृष्टिको सामु उहाँहरू आउन सक्नुहुन्छ तर त्यसका लागि तपाईं पहिला सुयोग्य बन्नुपर्दछ । भगवान्लाई देख्ने प्रकृया यो हो । यी बदमाशहरू भन्दछन्, “तपाईं मलाई भगवान् देखाउन सक्नुहुन्छ ?” तर भगवान्लाई हेर्नका लागि तिमीसँग कुन योग्यता छ ? सर्वप्रथम, त्यो योग्यता प्राप्त गर । त्यसपछि, तिमीले देख्नेछौ । भगवान् सर्वत्र हुुनुहुन्छ । अण्डान्तरस्थ परमाणु चयान् (ब्रह्म–संहिता ५।३५)....परमाणुभित्र समेत उहाँ विराजमान हुनुहुन्छ..... त्यसकारण, भगवान्लाई देख्न योग्य नबनेको मानिस, भगवद्गीतामा कृष्णले त्यस्ता मानिसहरूलाई भिन्न तरिकाले भगवान्को दर्शन गर्ने निर्देशन दिनुभएको छ । जस्तै, कृष्ण भन्नुहुन्छ, रसोऽहमप्सु कौन्तेय प्रभास्मि शशि–सूर्यायोः (भगवद्गीता ७।८)ः “मेरा प्रिय कौन्तेय, अर्जुन, म जलमा रहेको स्वाद हुँ ।” तपाईं भगवान्लाई पानीमा रहेको स्वादमा देख्ने प्रयास गर्नुहोस् । वर्तमान परिवेशमा हामीसँग अनेक इन्द्रियहरू छन् । तपाईं भगवान्लाई आँखाको माध्यमद्वारा देख्न चाहनुहुन्छ । त्यसकारण, आफ्नो जिब्रोबाट सुरु गर्नुहोस् । जिब्रो पनि अर्को इन्द्रिय हो । जस्तै, यदि राम्रो भोजन उपलब्ध छ र यदि मैले, “यो कस्तो छ भनेर म हेर्न चाहन्छु” भनेँ भने, “मलाई हेर्न देऊ” को के अर्थ छ किनभने तपाईंले हेरिसक्नुभएको छ । तपाईं के चाहनुहुन्छ ? “होइन, म त्यो भोजनलाई जिब्रोमा राख्न चाहन्छु ।” “मलाई हेर्न देऊ” को अर्थ यही हो । आँखाद्वारा होइन, जिब्रोद्वारा । यदि मीठो गुलाबजामुन र हलुवा छ भने “मलाई हेर्न देऊ” को अर्थ हुन्छः “मलाई स्वाद लिन देऊ” । त्यसकारण, सर्वप्रथम भगवान्को स्वाद लिनुहोस् । उहाँ तपाईंको इन्द्रियगत अनुभूतिको पहँुचमा हुनुहुन्छ, तपाईंले अभ्यास गर्नुपर्दछ । त्यसपछि, सेवोन्मुखे हि जिह्वादौ स्वयमेव स्फुरत्यदः (भक्तिरसामृत सिन्धु १।२।२३४) । त्यसपछि, तपाईंले भगवान्लाई बोध गर्नुहुनेछ । भगवान् आफैँ तपाईंसामु प्रकट हुनुहुनेछ । जब तपाईं भगवान्को समर्पित भक्त बन्नुहुन्छ, तब प्रसादम्को आस्वादन गरेर, तपाईंले भगवान्लाई व्यक्तिगत रूपमै दर्शन गर्नुहुनेछ । उहाँ तपाईंसँग बातचित गर्नुहुनेछ । त्यो सम्भव छ । त्यसकारण, वर्तमान समयमा हामी भगवान्लाई देख्न चाहन्छौँ, तर हामी उहाँलाई देख्न अयोग्य छौँ भन्ने कुरा हामी स्वीकार गर्न नै चाहँदैनौँ । हामी उहाँलाई कसरी देख्न सक्दछौँ ? यदि म सामान्य राष्ट्रपतिलाई त देख्न सक्दिनँ भने.... मेरो आफ्नो मनोवेगद्वारा म राष्ट्रपति अथवा अमुक नाम भएको ठूलो हाकिमलाई भेट्न चाहन्छु । तपाईं योग्य नबनेसम्म तपाईंले सामान्य राष्ट्रपतिलाई त देख्न सक्नुहुन्न भने तपाईं भगवान्लाई कसरी देख्न सक्नुहुन्छ ? त्यो सम्भव छैन । सर्वप्रथम, तपाईं योग्य बन्नुपर्दछ । त्यसपछि मात्र तपाईंले भगवान्लाई देख्नुहुनेछ । अक्षि–गोचरः । अक्षि–गोचरः भनेको हामी हेरिरहेका छौँ — तपाईं मलाई हेरिरहनुभएको छ, म तपाईंलाई हेरिरहेको छु — त्यसैगरी. तपाईले देवताहरु वा भगवानलाई देख्नुहुन्छ, तर तपाई योग्य हुनुपर्छ |