NE/Prabhupada 0855 - यदि म आफ्नो भौतिक भोगविलासलाई रोक्छु भने मेरो भोग्म्य जीवन समाप्त हुनेछ । होइन



750306 - Lecture SB 02.02.06 - New York


यदि म मेरो भौतिक भोगविलासलाई रोक्छु भने मेरो भोगमय जीवन समाप्त हुनेछ । अहँ, हुनेछैन । जबसम्म हामी यो भौतिक संसारमा रहनेछौँ, म देवराज इन्द्र पनि बन्न सक्छु, भगवान् ब्रह्मा पनि बन्न सक्छु अथवा अमेरिकाको राष्ट्रपति पनि बन्न सक्छु अथवा यो वा त्यो – तपाईं यी चार कुराहरूबाट बच्न सक्नुहुन्न । यो भौतिक जीवन हो । यही नै समस्या हो । तर यदि तपाईं समस्याको समाधान गर्न चाहनुहुन्छ भने तपाईंलाई समाधानको मार्ग पनि दिइएको छः निवृत्त । अन्याभिलाषिता–शून्यम् । भौतिक भोगविलासको चाहना नराख । सुख–सुविधाहरू उपलब्ध छन् । यो नसोच कि “यदि मैले भौतिक भोगविलासलाई रोकिदिएँ भने मेरो भोगी जीवन समाप्त हुनेछ ।” होइन । त्यो जीवन समाप्त भएको छैन । एउटा रोगी मानिसजस्तैः ऊ पनि खाइरहेको छ, ऊ पनि सुतिरहेको छ, ऊ पनि अन्य दायित्वहरू पूरा गरिरहेको छ तर त्यो.... उसको भोजन, निद्रा तथा एउटा स्वस्थ मानिसको भोजन र निद्रा एउटै हुँदैन । त्यसैगरी, हाम्रो भौतिक भोगविलास – खानु, सुत्नु, मैथुन गर्नु तथा आत्मरक्षा गर्नु – खतराहरूले भरिएको छ । कुनै प्रकारको अवरोधबिना हामी भोग गर्न सक्दैनौँ । यस्ता अनेक प्रकारका अवरोधहरू छन् । त्यसकारण, यदि हामी त्यो अविच्छिन्न सुख चाहन्छौँ भने त्यो सुख पनि उपलब्ध छ । एउटा रोगी मानिसजस्तै, ऊ पनि खाइरहेको छ र स्वस्थ मानिस पनि खाइरहेको छ । तर रोगीका लागि त्यो तीतो लाग्दछ । एउटा जण्डिस लागेको मानिस, यदि तपाईं उसलाई ऊखुको रस दिनुहुन्छ भने उसलाई तीतो लाग्नेछ । त्यो सत्य हो । तर जण्डिसबाट निको भइसकेको मानिसलाई त्यही रस अत्यन्त गुलियो लाग्नेछ । त्यसैगरी, भौतिक जीवनमा अनेक प्रकारका कमजोरीहरू छन्, त्यसकारण, हामी पूर्ण रूपमा जीवनको आनन्द लिन सक्दैनौँ । यदि तपाईं पूर्ण रूपमा जीवनको आनन्द प्राप्त गर्न चाहनुहुन्छ भने तपाईं आध्यात्मिक स्तरमा आउनैपर्दछ । दुःखालयमशाश्वतम् (भगवद्गीता ८।१५) । यो भौतिक संसारलाई भगवद्गीतामा यसरी वर्णन गरिएको छ, कि यो संसार दुःखालयम् हो । यो दुःखमय स्थान हो । त्यसपछि यदि तपाईं भन्नुहुन्छ, “होइन, मैले प्रबन्ध मिलाएको छु । अब मैले राम्रो बैँक खाता बनाएको छु । मेरी श्रीमती अत्यन्त असल छिन्, मेरा सन्तानहरू पनि अत्यन्त असल छन्, त्यसकारण, मलाई फरक पर्दैन । म यही भौतिक संसारमा रहनेछु,” कृष्ण भन्नुहुन्छ, अशाश्वतम्ः “होइन, महाशय । तपाईं यहाँ बस्न पाउनुहुन्न । तपाईंलाई यहाँबाट निकालिनेछ ।” दुःखालयमशाश्वतम् । यदि तपाईं यो संसारमा बस्न स्वीकार गर्नुहुन्छ भने, यो दुःखमय जीवन बिताउन चाहनुहुन्छ भने यसको अनुमति पनि दिइएको छैन । यो संसारमा स्थायी वासस्थान छैन । तथा देहान्तर–प्राप्तिर् । त्यसकारण, यी समस्याहरू....यी समस्याहरूका बारेमा बहस गर्ने वैज्ञानिकहरू कहाँ छन् ? तर समस्याहरू छन् । आफूले प्राप्त गरेको परिवारलाई कसले परित्याग गर्न चाहन्छ ? सबैजनाको आफ्नो परिवार छ, तर कोही पनि आफ्नो परिवारलाई त्याग्न तयार हुँदैनन् । तर उसलाई बलपूर्वक खोसिनेछ । मानिस रोइरहेको हुन्छ, “ओहो, म अब गइरहेको छु । म अब मरिरहेको छु । मेरी श्रीमती तथा बालबच्चाहरूलाई के हुनेछ ?” उसलाई बाध्य पारिन्छ । तिमी बाहिर जानै पर्दछ । यही नै समस्या हो । त्यसोभए, समस्याको समाधान कहाँ छ त ? यो समस्याको कुनै समाधान छैन । यदि तपाईं समस्याको समाधान गर्न चाहनुहुन्छ भने कृृष्ण भन्नुहुन्छ, मामुपेत्य कौन्तेय दुःखालयं अशाश्वतम् नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गताः (भगवद्गीता ८।१५) । “यदि कोही मकहाँ आउँदछ भने,” मामुपेत्य, “भने उसलाई दुःखकष्टले भरिएको यो भौतिक संसारमा पुनः आइरहनुपर्दैन ।” त्यसकारण, यहाँ शुकदेव गोस्वामी भन्नुहुन्छ कि तपाईं भक्त बन्नुपर्दछ । त्यसपछि तपाईंका सम्पूर्ण समस्याहरूको समाधान हुनेछ ।