NE/Prabhupada 0881 - हुन त भगवान् अदृश्य हुनुहुन्छ, तर अब उहाँ दृश्यमान रूपमा कृष्णका रूपमा आउनुभएको छ



730413 - Lecture SB 01.08.21 - New York

अनुवादः “त्यसकारण, म भगवान्लाई सादर प्रणाम अर्पण गर्दछु, जो वसुदेवका पुत्र, देवकीको आनन्द, नन्द महाराज तथा वृन्दावनका अन्य गोठालाहरूको पुत्र हुनुहुन्छ"

प्रभुपादः त्यसकारण, सुरुवातमा कुन्तीदेवीले भन्नुभयो कि नमस्ये पुरुषं त्वाद्यमीश्वरं प्रकृतेः परम्ः (श्रीमद्भागवतम् १।८।१८) । “म त्यो आदिपुरुषलाई मेरो सादर प्रणाम अर्पण गर्दछु, जो प्रकृतेः परम्, अर्थात् जो यो भौतिक संसारभन्दा पर हुनुहुन्छ ।” कृष्ण परिपूर्ण आत्मा अर्थात् परमात्मा हुनुहुन्छ । उहाँको भौतिक शरीर छैन । अतः सुरुवातमै कुन्तीदेवीले हामीलाई यो ज्ञान दिनुभएको छ कि भगवान्, परमपुरुष.... पुरुष भनेको व्यक्ति हो । उहाँ निराकार हुनुहुन्न । पुरुष । तर उहाँ यो भौतिक संसारको पुरुष हुनुहुन्न, उहाँ यो भौतिक सृष्टिको व्यक्तित्व हुनुहुन्न । यो हामीले बुझ्नुपर्ने कुरा हो । निराकारवादीहरूले आफ्नो अल्पज्ञानद्वारा यो जान्न सक्दैनन् कसरी सर्वोच्च परमसत्य एउटा व्यक्ति बन्न सक्नुहुन्छ, किनभने जब तिनीहरू कुनै व्यक्तिको विचार गर्दछन् तब तिनीहरू यो संसारको व्यक्तिको विचार गर्दछन् । यो तिनीहरूको कमजोरी हो । तिनीहरूसँग अल्पज्ञान छ । भगवान् किन यो भौतिक संसारको व्यक्ति हुनुपर्ने ? अतः यो सुरुवातमै स्पष्ट पारिएको छ ।

प्रकृतेः परम्, यो भौतिक सृष्टिभन्दा पर, तर उहाँ एउटा व्यक्ति हुनुहुन्छ । त्यसकारण, अब त्यो व्यक्तित्व, हुन त अलक्ष्यम् अर्थात् अदृश्य हुनुहुन्छ, अब कुन्तीदेवीको कृपाले हामी परमपुरुषलाई बुझ्न सक्दछौँ । हुन त परमपुरुष अदृश्य हुनुहुन्छ, तर अब उहाँ दृश्यमान भएर कृष्णका रूपमा प्रकट हुनुभएको छ । त्यसकारण, कुन्तीदेवी भन्नुहुन्छः कृष्णाय वासुदेवाय (श्रीमद्भागवतम् १।८।२१) । कहिलेकाहीँ निराकारवादीहरू वासुदेव अर्थात् सर्वव्यापक भन्ने धारणा प्रस्तुत गर्दछन् । त्यसकारण, कुन्तीदेवी भन्दै हुनुहुन्छ, “त्यो वासुदेव अर्थात् सर्वव्यापक व्यक्ति कृष्ण हुनुहुन्छ ।” कृष्ण आफ्नो वासुदेव गुणद्वारा सर्वव्यापक हुनुहुन्छ । ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति । (भगवद्गीता १८।६१) । कृष्णको यो विशेषता... आदिपुरुष कृष्णका तीन विशेषताहरू छन्ः भगवान्, सर्वव्यापक परमात्मा तथा निराकार ब्रह्मज्योति । अतः जो भक्तियोगमा संलग्न छन् तिनीहरूको निराकार ब्रह्मज्योतिसँग केही सरोकार हुँदैन । ब्रह्मज्योति साधारण मानिसहरूका लागि हो । साधारण मानिसहरू । जस्तै, तिमी बुझ्न सक्दछौः सूर्यलोकका निवासीहरू, तिनीहरूलाई सूर्यको प्रकाशको मूल्य ? तिनीहरूका लागि सूर्यको प्रकाश सबैभन्दा तुच्छ वस्तु हो । त्यसैगरी, आध्यात्मिक जीवनमा उन्नत भइसकेका मानिसहरू, तिनीहरू व्यक्ति, पुरुष अर्थात् वासुदेवप्रति आकर्षित हुन्छन् । पुरुषम् । भगवद्गीतामा कृष्ण भन्नुहुन्छ कि अनेकौँ जन्मपछि मात्र यस्तो आत्मबोध प्राप्त हुन्छ । बहुनां जन्मनामन्ते (भगवद्गीता ७।१९)ः अनेकौँ जन्मपछि । यी निराकारवादीहरू जो ब्रह्मज्योतिप्रति अत्यन्त आकर्षित हुन्छन्, यस्ता व्यक्तिहरूलाई ज्ञानी भनिन्छ । तिनीहरू आफ्नो ज्ञानको सहायताले परमसत्यलाई बुझ्ने प्रयास गरिरहेका छन्, तर तिनीहरू जान्दैनन् कि तिनीहरूको ज्ञान अत्यन्त अपूर्ण तथा सीमित छ । र परमसत्य कृष्ण असीमित हुनुहुन्छ ।