NE/Prabhupada 0882 - कृष्ण तिमीलाई भगवद्-धाम फर्काउन अत्यन्त व्यग्र हुनुहुन्छ, तर हामी हठी छौँ



730413 - Lecture SB 01.08.21 - New York

आफ्नो सीमित ज्ञानद्वारा तिमी असीमित भगवान्कहाँ पुग्न सक्दैनौ । यो सम्भव छैन । अतः कुन्तीदेवीजस्ता भक्तहरूको कृपाले, हामीले भगवान् वासुदेवलाई बुझ्न सक्छौँ । सर्वव्यापक परमसत्य, परमात्मा, वासुदेव यहाँ हुनुहुन्छ । कृष्णाय वासुदेवाय (श्रीमद्भागवतम् १।८।२१) । अतः निराकारवादीहरूले वासुदेवलाई बोध गर्न अनेकौँ जन्म लाग्दछ । यो त्यति सजिलो छैन । बहूनां जन्मनां अन्ते ज्ञानवान् मां प्रपद्यते वासुदेवः सर्वं इति स महात्मा सुदुर्लभः (भगवद्गीता ७।१९) । सुदुर्लभः भनेको “अत्यन्त दुर्लभ” हो र महात्मा भनेको उदार मन भएको मानिस हो । तर कृष्णलाई बुझ्न नसक्ने मानिसहरू संकुचित धारणा भएका हुन्छन् । तिनीहरू उदार चित्त भएका मानिस होइनन् । यदि कोही उदार चित्त भएको मानिस बन्दछ भने कृष्णको कृपाले उसले कृष्णलाई बुझ्न सक्दछ । सेवोन्मुखे हि जिह्वादौ (भक्तिरसामृत सिन्धु १।२।२३४) । यो प्रकृया सेवान्मुख अर्थात् सेवाको प्रकृया हो । जिब्रोबाट सेवा सुरु गरेपछि वासुदेवको साक्षात्कार सम्भव हुन्छ । पहिलो सेवा भनेको श्रवणम् कीर्तनम् हो । (श्रीमद्भागवतम् ७।५।२३) । बारम्बार हरे कृष्ण मन्त्रको जप गर र श्रवण गर अनि प्रसाद मात्र खाऊ । यी जिब्रोका दुई काम हुन् । तिमीले यो बोध गर्नेछौ । यो अति सरल छ । सेवोन्मुखे हि जिह्वादौ स्वयम्.... कृष्णले आफैँलाई तिम्रो सामु प्रकट गर्नुहुनेछ, यो होइन कि आफ्नो प्रयासद्वारा तिमीले कृष्णलाई बुझ्नेछौ, तर तिमीले प्रेमपूर्वक कृष्णको सेवा गर्ने प्रयास गर्दा तिमी सुयोग्य हुनेछौ । कृष्ण स्वयं प्रकट हुनुहुनेछ । स्वयं एव स्फुरति अदः । कृष्ण तिमीलाई भगवद्धाम फर्काउन अत्यन्त व्यग्र हुनुहुन्छ । तर हामी हठी छौँ । हामी नै चाहँदैनौँ । अतः उहाँ सधँै तिमीलाई भगवद्धाम लैजाने अवसर खोजिरहनुुहुन्छ । एउटा स्नेही पिताजस्तै । बदमाश छोराले आफ्नो पितालाई छोडेर, कुनै गाँस–वासबिना दुःख पाउँदै सडकमा भौँतारिँदै हिँड्छ भने पिता आफ्नो छोरालाई घर फर्काउन अति व्यग्र हुन्छ । त्यसैगरी, कृष्ण हाम्रो परमपिता हुनुहुन्छ । यो भौतिक संसारमा रहेका सम्पूर्ण जीवात्माहरू तिनीहरू ठीक त्यही धनाढ्य मानिसको बरालिएको र सडकमा भौँतारिँदै हिँड्ने छोराजस्तै छन् । अतः मानव समाजलाई कृष्णभावनामृत प्रदान गर्नु नै समाजको सबैभन्दा ठूलो कल्याण हो । सबैभन्दा ठूलो...तिमीले कुनै कल्याण गर्न सक्दैनौः कुनै पनि किसिमको भौतिक सुखसुविधाले जीवात्मालाई सन्तुष्ट पार्न सक्दैन । यदि जीवात्मालाई कृष्णभावनामृत प्रदान गरियो भने....ठीक अघिको कथाजस्तै । एउटा दिग्भ्रमित भएको केटा सडकमा भौँतारिइरहेको छ । यदि उसलाई याद दिलाइयो, “प्रिय बाबु, तिमी किन यहाँ यस्तो दुःखकष्ट भोगिरहेका छौ ? तिमी फलानो अरबपतिको छोरा हौ । तिम्रो पिताको यति धेरै सम्पत्ति छ । तिमी किन सडकमा भौँतारिँदै हिँड्छौ ?” र यदि ऊ होशमा आउँदछ भनेः “हो त, म त फलानो अरबपतिको छोरा हुँ । म किन सडकमा भौँतारिँदै हिँड्ने ?” अब ऊ घर फर्कन्छ । यद् गत्वा न निवर्तन्ते (भगवद्गीता १५।६) । अतः यो सर्वोच्च सेवा हो । तिमी कृष्णका पुत्र हौ । कृष्ण ऐश्वर्यशाली हुनुहुन्छ, उहाँसँग छओटा ऐश्वर्यहरू छन् । तिमी किन यो भौतिक संसारमा यात्रा गर्दै सडिरहेका छौ ?” कृष्णभावनामृत नै सबैभन्दा ठूलो सेवा हो । तर माया अत्यन्त शक्तिशाली छिन् । तापनि यो प्रत्येक कृष्णभक्तको दायित्व हो, सबैजनालाई कृष्णभावनामृतको शिक्षा दिनु । जस्तै, कुन्तीदेवीले यहाँ भन्नुभएको छ । सर्वप्रथम, उहाँले भन्नुभयो, अलक्ष्यं सर्वभूतानां अन्तर्बहिर् अवस्थितम् (श्रीमद्भागवतम् १।८।१८)... हुन त परमपुरुष कृष्ण भित्र र बाहिर सर्वत्र हुनुहुन्छ तापनि, मूर्ख तथा बदमाशहरूका लागि उहाँ अदृश्य नै हुनुुहुन्छ । त्यसकारण, कुन्ती भन्नुहुन्छः “हजुर भगवान् हुनुहुन्छ, कृष्णाय वासुदेवाय (श्रीमद्भागवतम् १।८।२१) ।” उहाँ सर्वत्र व्याप्त हुनुभएका भगवान् हुनुहुन्छ, तर उहाँ देवकीका पुत्र हुन पाउँदा अत्यन्त प्रसन्न हुनुहुन्छ । देवकीनन्दनाय । देवकीनन्दनाय । अर्थववेदमा समेत देवकीनन्दन शब्द उल्लिखित छ । कृष्ण देवकीनन्दनका रूपमा आउनुहुन्छ, अनि कृष्णको धर्मपिता नन्दगोप अर्थात् नन्द महाराज हुनुहुन्छ ।