NE/Prabhupada 0885 - आध्यात्मिक आनन्द कहिल्यै पनि समाप्त हुँदैन । यो निरन्तर बढिरहन्छ



730413 - Lecture SB 01.08.21 - New York

केवल सौभाग्यशाली जीवात्माले मात्र कृष्ण तथा कृष्णका भक्तहरूसँग संगत गर्ने अवसर प्राप्त गर्दछ । एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव गुरु–कृष्ण–कृपाय पाय भक्ति–लता–बीज (चै.च. मध्यलीला १९।१५१) । यो भक्ति–लता–बीज, अर्थात् भक्तिमय सेवाको बीज, हरे कृष्ण मन्त्रको जप तथा कीर्तन । अतः कुन्तीदेवी भन्दै हुनुहुन्छ कि “त्यो अलक्ष्य अर्थात् अदृश्य व्यक्ति को हो ?” त्यो व्यक्ति कृष्ण हो । “कृष्ण ? धेरै किसिमका कृष्ण हुनुहुन्छ ।” वासुदेवाय अर्थात् वसुदेवका पुत्र । “वासुदेवहरू पनि धेरै किसिमका हुनुहुन्छ ।” होइन, नन्दगोपाय, नन्दनाय (श्रीमद्भागवतम् १।८।२१) , महाराज नन्दका धर्मपुत्र । कुन्तीदेवीले तीनपटक जोड दिएर भन्नुभएको छः “त्यो व्यक्ति कृष्ण हुनुहुन्छ ।” कृष्ण, जसले देवकी तथा वसुदेवको पुत्र भएर जन्म लिनुहुन्छ, तर कृष्णले माता यशोदा तथा महाराज नन्दको संगतको आनन्द लिनुहुन्छ—बाल्यकालीन जीवन । यो कृष्णको लीला हो । अतः आनन्द–लीलामय–विग्रहाय । आनन्दलीला, कृष्णका लीलाहरू सबै आनन्दमय छन् । आनन्दलीलामय । आनन्दमयोऽभ्यासात् (वेदान्तसूत्र १।१।१२) । कृष्ण स्वभावैले आनन्दमय हुनुहुन्छ । तिमीले कृष्णलाई कहिल्यै पनि दुःखी अवस्थामा भेट्दैनौ । कृष्ण कदापि दुःखी बन्नुहुन्न । कृष्ण सदैव सुखी हुनुहुन्छ । त्यसकारण, नन्द–गोप–कुमाराय गोविन्दाय (श्रीमद्भागवतम् १।८।२१) । कृष्ण सुखी हुुनुहुन्छ र जो पनि कृष्णसँग संगत गर्दछ, ऊ पनि सुखी बन्दछ । गोविन्दाय । हामी इन्द्रियतृप्तिको पछाडि लागेका छौँ । गो भनेको इन्द्रियहरू हुन् । अतः यदि तिमी कृष्णसँग संगत गर्दछौ भने तिमीले वैभवशाली रूपले इन्द्रिय–भोग गर्नेछौ । जस्तै, गोपीहरू कृष्णसँग नृत्य गरिरहेका छन् । अतः त्यहाँ इन्द्रियतृप्तिको पनि कुनै कमी छैन । तर त्यो इन्द्रियतृप्ति र यो स्थूल इन्द्रियतृप्ति एउटै होइन । त्यो आध्यात्मिक इन्द्रिय हो । त्यो आध्यात्मिक इन्द्रिय हो । आनन्द–चिन्मय–सद्–उज्ज्वल–विग्रहस्य (ब्रह्म–संहिता) । हामी प्रत्येक दिन जप गर्दछौँ । आध्यात्मिक जगतमा तिमीले प्राप्त गर्ने इन्द्रियतृप्ति आनन्द–चिन्मय हुन्छ । भौतिक शरीरका यी इन्द्रियहरूको तल्लो स्तरको आनन्द होइन । भौतिक शरीरका यी इन्द्रियहरूको तल्लो स्तरको आनन्द होइन । हामी सोचिरहेका छौँ कि “मैले आनन्द भोगिरहेको छु” तर त्यो आनन्द होइन । यो आनन्द सत्य होइन, किनभने हामीले यो भौतिक इन्द्रियसुख धेरै लामो समयसम्म भोगिरहन सक्दैनौँ । सबैजनासँग अनुभव छ । यो समाप्त हुनेछ । यो समाप्त हुनेछ । तर आध्यात्मिक आनन्द समाप्त हुँदैन । यो निरन्तर बढिरहन्छ । यही नै भिन्नता हो । आनन्द–चिन्मय–सद्–उज्ज्वल–विग्रहस्य गोविन्दं आदिपुरुषं (ब्रह्म–संहिता ५।३२) । अतः तिमीले गोविन्दसँग संगत गर्नुपर्दछ । यहाँ पनि भनिएको छ, गोविन्दाय नमो नमः “म गोविन्दलाई सादर प्रणाम गर्दछु ।” अतः यो कृष्णभावनामृत अभियान अत्यन्त असल छ, तिमी सिधै गोविन्दको सम्पर्कमा आउनेछौ । यो अर्चाविग्रहको सेवा–पूजा पनि सिधै गोविन्दसँग सम्बन्धित छ । श्रीविग्रहाराधन–नित्य–नाना–श्रृंगार–तन्–मन्दिर–मार्जनादौ । यो श्रीकृष्णको विग्रह पनि कृष्णकै कृपा हो । किनभने कृष्ण अलक्ष्य अर्थात् अदृश्य हुनुहुन्छ, कृष्ण तिम्रो सुविधाका लागि प्रकट हुनुभएको छ र तिमी कृष्णलाई देख्न सक्छौ । तापनि...यो होइन कि कृष्ण पत्थर हुनुहुन्छ अथवा कृष्ण काठ हुनुहुन्छ अथवा कृष्ण धातु हुनुहुन्छ । कृष्ण सधैँ कृष्ण नै हुुनुहुन्छ । तर उहाँ... किनभने तिमीले काठ, पत्थर तथा धातुबाहेक अन्य आध्यात्मिक वस्तु देख्न सक्दैनौ, त्यसकारण, कृष्ण काठ, पत्थर अथवा धातुजस्तै बनेर प्रकट हुनुहुन्छ । तर कृष्ण काठ, पत्थर अथवा धातु हुनुहुन्न । जब तिमीले कृष्णसँग संगत गर्दछौ तब तिमीले पनि कृष्णको जस्तै सुविधाहरू प्राप्त गर्नेछौ । तिमी कृष्णसँग संगत गर्नेछौ । तर वर्तमान समयमा कृष्ण अदृश्य हुनुभएकोे कारणले, उहाँले कृपापूर्वक यस्तो स्वरूप धारण गर्नुभएको छ जुन तिमीले देख्न सक्छौ । यो कृष्णको कृपा हो । यो नसोच कि, “ओहो, यहाँ कृष्ण हुनुहुन्छ, यहाँ पत्थर कृष्ण हुनुहुन्छ ।” कृष्ण सबै थोक हुनुहुन्छ । कृष्ण नै सबै थोक हुनुहुन्छ, त्यसकारण, कृष्ण पत्थर पनि हुनुहुन्छ । कृष्ष्ण पत्थर पनि हुनुहुन्छ तर उहाँ निष्क्रिय रहने पत्थर हुनुहुन्न । कृष्णले पत्थरको रूपमा रहेर पनि कर्म गर्न सक्नुहुन्छ । कृष्णले धातुका रूपमा पनि काम गर्न सक्नुहुन्छ । र तिमीले त्यो अनुभव गर्नेछौ । स्वयमेव स्फुरत्यदः । तिमीले जति धेरै सेवा दिन्छौ, तथाकथित पत्थरले पनि तिमीसँग बोल्नुहुनेछ । यसका अनेक उदाहरणहरू छन् ।