NE/Prabhupada 0916 - कृष्णलाई तिमीले दिएको राम्रो वस्त्र अथवा राम्रो फूल अथवा राम्रो भोजनको आवश्यकता छैन



730415 - Lecture SB 01.08.23 - Los Angeles


प्रभुपाद : अतः यो भौतिक संसारमा भगवान्को उत्पत्ति तथा तिरोभाव यसलाई चिकीर्षितम् भनिन्छ । चिकीर्षितम्को शब्दार्थ के हो ?

भक्त : लीला ।

प्रभुपाद : लीला । कृष्णले अवतार लिनु उहाँको लीला हो । जब कृष्ण आउनुहुन्छ, निश्चय नै उहाँले केही गर्नुहुन्छ । उहाँले साधुलाई संरक्षण दिने तथा असाधुहरूको वध गर्ने काम गर्नुहुन्छ । तर यी दुवै गतिविधिहरू उहाँका लीलाहरू हुन् । उहाँ ईष्र्यालु हुनुहुन्न । उहाँ इर्ष्यालु हुनै सक्नुहुन्न । असुरहरूको वध गर्नु पनि उहाँको स्नेह नै हो । जस्तै, हामी कहिलेकाहीँ हाम्रा सानासाना सन्तानहरूलाई अत्यन्त कठोर झापड दिन्छौँ । प्रेम नभएको कारणले झापड हानिएको होइन । त्यहाँ प्रेम हुन्छ । त्यसैगरी, जब कृष्णले कुनै असुरको वध गर्नुहुन्छ, कृष्णले त्यो भौतिक ईष्र्याको कारणले गर्नुभएको होइन । अतः शास्त्रहरूमा उल्लेख गरिएको छ कि असुरहरूले समेत, जसलाई भगवानले वध गर्नुभएको थियो, तिनीहरूले पनि तत्काल मोक्ष प्राप्त गर्दछन् । यसको प्रतिफल समान हुन्छ । जस्तै, पुतना । पुतनालाई कृष्णले वध गर्नुभयो । पुतना कृष्णलाई मार्न चाहन्थी, तर कृष्णलाई कसले मार्न सक्छ ? त्यो सम्भव छैन । यसको विपरीत, पुतनालाई कृष्णले मार्नुभयो । जब पुतनाको वध भयो तब यसको प्रतिफल के भयो ? यसको प्रतिफल यो भयो कि पुतनाले कृष्णको आमाको पद प्राप्त गरिन् । कृष्णले पुतनालाई आमाको रूपमा स्वीकार्नुभयो । पुतनाले आफ्नो स्तनमा कालकुट विष लेपन गरेर आएकी थिई : “कृष्णले मेरो स्तनपान गर्नेछ र ऊ तत्काल मर्नेछ ।” तर यो सम्भव छैन । बरु यसको विपरीत, पुतना मारिई । कृष्णले पुतनाको स्तनपान मात्र होइन उसको प्राण पनि चुस्नुभयो । तर कृष्णले सकारात्मक पक्षलाई मात्र मूल्यांकन गर्नुभयो कि : “यो राक्षसी, पुतना मलाई मार्नका लागि आएकी थिई तर मैले उसको स्तनपान गरेँ । त्यसकारण, ऊ मेरी आमा हो । ऊ मेरी आमा हो ।” यसप्रकार पुतनाले आमाको पद प्राप्त गर्नुभयो । श्रीमद्भागवतमा यसको वर्णन गरिएको छ । उद्धवले विदुरलाई बताउनुभयो कि कृष्ण अत्यन्त दयालु हुनुहुन्छ, कृष्ण अत्यन्त दयालु हुनुहुन्छ : उहाँलाई विष पिलाएर मार्न चाहने व्यक्ति पुतनालाई समेत कृष्णले आमाको रूपमा स्वीकार्नुभयो । कृष्ण यस्तो दयालु भगवान् हुनुहुन्छ, त्यसैले, “म किन कृष्णबाहेक अन्य देवताहरूको पूजा गर्ने ?” यो उदाहरण दिइएको छ । अतः वास्तवमा कृष्णको कुनै दुश्मन छैन । यहाँ उल्लेख गरिएको छ : न यस्य कश्चिद् दयितः । दयितः भनेको प्रिय हो । कोही पनि कृष्णको प्रिय छैन । न यस्य कश्चिद् दयितोऽस्ति कर्हिचित् द्वेष्यश्च । र कोही पनि कृष्णको दुश्मन छैन । तर को कृष्णको शत्रु बन्न सक्छ र को कृष्णको मित्र बन्न सक्छ ? मानौँ, हामीले मित्रहरू बनाउँदछौँ । हामीले मित्रबाट केही आशीर्वाद अथवा केही लाभ चाहन्छौँ । र शत्रुको अर्थ हो : हामी उसबाट केही हानिकारक गतिविधिको आशा गर्दछौँ । तर कृष्ण यति परिपूर्ण हुनुहुन्छ कि कसैले पनि कृष्णलाई हानि पु¥याउन सक्दैन, न त कसैले कृष्णलाई केही दिन नै सक्दछ । त्यसकारण, मित्र अथवा शत्रुको आवश्यकता कहाँ छ ? कुनै आवश्यकता छैन । त्यसकारण, यहाँ उल्लेख गरिएको छ : न यस्य कश्चिद् दयितोऽस्ति । कृष्णलाई कसैको कृपा आवश्यक छैन । उहाँ आफैँमा परिपूर्ण हुनुहुन्छ । म अत्यन्त गरिब मानिस हुन सक्दछु । त्यसकारण, म कुनै मित्रको कृपाको आशा गर्दछु । तर त्यो केवल मेरो आशा मात्र हो किनभने म अपूर्ण छु । म परिपूर्ण छैन । मेरा अनेकौँ कमजोरीहरू छन् । अतः मलाई सधैँ कुनै न कुनै वस्तुको अभाव हुन्छ । त्यसकारण, म केही मित्रहरू बनाउन चाहन्छु र त्यसैगरी मेरा शत्रुहरूलाई म घृणा गर्दछु । तर कृष्ण परमेश्वर हुनुभएको कारणले.... कसैले पनि कृष्णलाई कुनै हानि पु¥याउन सक्दैन, न त कसैले कृष्णलाई केही दिन नै सक्दछ । त्यसोभए, हामी कृष्णलाई यति धेरै सुख–सुविधाहरू किन अर्पण गरिरहेका छौँ त ? हामी कृष्णलाई असल–असल वस्त्र पहिराउँदछौँ, हामी कृष्णलाई श्रृंगार गर्दछौँ, हामी कृष्णलाई असल–असल भोजन अर्पण गरिरहेका छाँै । अतः यो तथ्यलाई बुझ्ने प्रयास गर । कृष्णलाई तिमीले दिएको असल–असल वस्त्र अथवा सुन्दर फूल अथवा असल भोजनको आवश्यकता छैन । कृष्णलाई कुनै आवश्यकता छैन । तर यदि तिमीले कृष्णलाई केही अर्पण गर्दछौ भने तिम्रो कल्याण हुन्छ । कृष्णले तिम्रो सेवा स्वीकार्नु भनेको कृष्णको कृपा हो । यहाँ एउटा उदाहरण दिइएको छ : जस्तै, यदि तिमीले एउटा मानिसलाई श्रृंगार गर्दछौ भने, ऐनामा देखिने उसको प्रतिबिम्बको पनि श्रृंगार भएको देखिन्छ । र हामी पनि प्रतिबिम्बजस्तै हौँ । बाइबलमा पनि उल्लेख गरिएको छ कि भगवान्ले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको छ । कृष्ण दिव्य हुनुहुन्छ.... कृष्णका दुई हात, दुई गोडा तथा एउटा शिर छन् । अतः मानिसको स्वरूप भगवान्को जस्तै छ भन्नुको अर्थ हो : हामी भगवान्को स्वरूपका प्रतिबिम्ब हौँ । यो होइन कि हामीले हाम्रो स्वरूपअनुसार कुनै स्वरूपको कल्पना गर्नुपर्दछ । त्यो भूल हो । मायावादी दर्शन पनि त्यस्तै हो । यसलाई मानवीकरण भनिन्छ । तिनीहरू भन्दछन् कि : “किनभने... परमसत्य निराकार छ तर हामी त व्यक्ति हौँ, त्यसकारण, हामी कल्पना गर्दछौँ कि परमसत्य पनि व्यक्ति हुनुहुन्छ ।” ठीक विपरीत । वास्तवमा यो सत्य होइन । हामीले भगवान्को स्वरूपको प्रतिबिम्बका रूपमा यो व्यक्तिगत स्वरूप प्राप्त गरेका छौँ । यदि वास्तविक मानिसलाई लाभ मिल्दछ भने त्यसको प्रतिबिम्बलाई पनि अवश्य लाभ मिल्दछ । यही नै हाम्रो सिद्धान्त हो । प्रतिबिम्ब पनि लाभान्वित हुन्छ ।