NE/Prabhupada 0917 - सारा संसारले इन्द्रियहरूको सेवा गर्दैछन्, उनीहरू इन्द्रियहरूको सेवक भएका छन्



730421 - Lecture SB 01.08.29 - Los Angeles


त्यसकारण, यदि तिमीले कृष्णलाई सजाउँछौ भने तिमी पनि सजिनेछौ । यदि तिमीले कृष्णलाई सन्तुष्ट बनायौ भने तिमी पनि सन्तुष्ट हुनेछौ । यदि तिमीले कृष्णलाई असल–असल भोजन अर्पण गर्दछौ भने तिमीले पनि पछि त्यो खान पाउनेछौ । मन्दिरबाहिर बस्दछन् तिनीहरूले कदापि यस्ता असल–असल व्यञ्जनको कल्पनासम्म पनि गरेका छैनन् होला । तर यी व्यञ्जनहरू कृष्णलाई अर्पण गरिने कारणले हामीले पनि यी व्यञ्जनहरू खाने अवसर पाएका छौँ । यही नै हाम्रो सिद्धान्त हो । अतः यदि तिमीले कृष्णलाई सम्पूर्ण दृष्टिकोणबाट प्रसन्न पार्ने प्रयास गर । त्यसपछि, तिमी पनि सम्पूर्ण दृष्टिकोणले सन्तुष्ट हुनेछौ । कृष्णलाई तिम्रो सेवाको आवश्यकता छैन । तर उहाँले कृपापूर्वक तिम्रो सेवा स्वीकार्नुहुन्छ । सर्व–धर्मान् परित्यज्य मामेकं शरणं व्रज (भगवद्गीता १८।६६) । कृष्ण तिमीलाई सोध्दै हुनुहुन्छ कि : “तिमी मेरो शरणमा आऊ ।” यसको अर्थ यो होइन कि कृष्णलाई एउटा सेवकको कमी छ, र यदि तिमीले उहाँको शरण लियौ भने उहाँलाई फाइदा हुनेछ । (हाँसो चल्छ) कृष्णले केवल इच्छा मात्र गर्दा पनि लाखौँ सेवकहरू सृष्टि गर्न सक्नुहुन्छ । अतः उहाँलाई सेवकको कमी भएको कुरा सत्य होइन । तर यदि तिमीले कृष्णको शरण लिन्छौ भने तिमी सुरक्षित हुनेछौ । तिमी सुरक्षित हुनेछौ । यो तिम्रो कल्याणका लागि हो । कृष्ण भन्नुहुन्छ : अहं त्वां सर्वपापेभ्यो मोक्ष्ययिष्यामि (भगवद्गीता १८।६६) । तिमी यहाँ कष्ट भोगिरहेका छौ । तिमी यहाँ आश्रयविहीन छौ । तिमी यहाँ अनेक मानिसहरू कुनै उद्देश्यबिना र कुनै जीवनबिना गल्लीगल्लीमा त्यसै भौतारिइरहेका देख्न सक्छौ । हामी समुद्री किनारतिर जाँदा अनेक पुरुष र स्त्रीहरू देख्ने गछौँ, त्यहाँ कुनै उद्देश्यबिना त्यसै बरालिएका र के गर्नुपर्ने हो केही थाहा नभएका अर्थात् पूर्णतः दिग्भ्रमित मानिसहरू छन् । तर यदि तिमीले कृष्णको शरण लिन्छौ भने तिमीले जान्नेछौ : ओहो, अब मैले आश्रय पाएको छु ।” अब उप्रान्त तिमी दिग्भ्रमित हुनेछैनौ । अब उप्रान्त निराशा हुनेछैन । तिमी यसलाई अत्यन्त राम्रोसँग बुझ्न सक्छौ । र मैले दैनिक रूपमा अनेक चिठीहरू प्राप्त गर्दछु जसमा लेखिएको हुन्छ कि तिनीहरू कृष्णभावनामृतमा कसरी आशावादी भइरहेका छन् । अतः कृष्ण यहाँ केही सेवकहरू बटुल्न आउनुभएको छ भन्ने कुरा सत्य होइन । तर हामी कृष्णको सेवक बन्न अस्वीकार गरेर अन्य अनेक वस्तहरूको सेवक बनिरहेका छौँ । हामी हाम्रा इन्द्रिय तथा इन्द्रियगत गतिविधिहरूको सेवक बनिरहेका छौँ । हामी काम, क्रोध, लोभ, मोह आदिको सेवक बनिरहेका छौँ । वास्तवमा अहिले सम्पूर्ण संसारले नै इन्द्रियहरूको सेवा गरिरहेको छ । गोदास । तर यदि हामीले इन्द्रियहरूलाई कृष्णको सेवा संलग्न राख्छौँ भने, हामी अब उप्रान्त इन्द्रियहरूको सेवक बन्नुपर्दैन । हामी इन्द्रियहरूको स्वामी बन्नेछौ । किनभने हामी आफ्ना इन्द्रियहरूलाई अन्यत्र संलग्न हुने अनुमति दिनेछैनौ । हामीले त्यो शक्ति प्राप्त गर्नेछौँ र त्यसपछि हामी सुरक्षित हुनेछौँ । अतः यहाँ कुन्तीदेवी वर्णन गर्दै हुनुहुन्छ कि : “भौतिक संसारमा हजुरको अवतार हुनु.....कुनै भ्रमित पार्ने कुरा होइन । हामी सोचिरहेका छौँ : “कृष्णको केही उद्देश्य छ, केही प्रयोजन छ । त्यसकारण, कृष्ण अवतरित हुनुभएको छ ।” होइन । यो त उहाँको लीला हो । यो लीला हो । जस्तै, कहिलेकाहीँ देशको गभर्नर कारागारको निरीक्षण गर्न आउँदछन् । उसलाई कारागारमा गइरहनुपर्ने कुनै आवश्यकता छैन । उसले कारागार–अधिकृतबाट कारागारसम्बन्धी सम्पूर्ण विवरणहरू प्राप्त गरिरहेको हुन्छ । तापनि कहिलेकाहीँ ऊ कारागारमा आउँदछ : “कैदीहरू के गरिरहेका छन्, हेर्नुप¥यो ।” यसलाई लीला भनिन्छ । यो उहाँको स्वतन्त्र इच्छा हो । यो होइन कि ऊ अब कारागारको कानुनको अधीनमा छ र त्यसकारण ऊ कारागारमा आएको हो । होइन, त्यस्तो होइन । तर यदि कैदीहरूले यस्तो सोच्न पनि सक्छन् : “ए, यो गभर्नर पनि कारागारमा आएछ । त्यसकारण, हामी समान छौँ । अब हामी समान छौँ । अब म पनि गभर्नर हुँ ।” (हाँसो चल्छ) बदमाशहरू यस्तो सोच्दछन् । “कृष्ण आउनुभएको छ अर्थात् कृष्णले अवतार लिनुभएको छ, त्यसकारण, म पनि अवतार हुँ ।” आजभोलि संसारमा यही बदमाशी चलिरहेको छ ।