NE/Prabhupada 0888 - हरे कृष्ण मन्त्रको जप गर र भगवानलाई बोध गर

Revision as of 21:46, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


750522 - Lecture SB 06.01.01-2 - Melbourne

मानिसहरू प्रकृतिको नियमले कसरी काम गरिरहेको छ, बुझ्न चाहँदैनन् । प्रकृतिको नियम भनेको भगवान्को कानुन हो । प्रकृति स्वतन्त्र छैन । भगवद्गीतामा कृष्णले यसलाई स्पष्ट पार्नुभएको छःमयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् (भगवद्गीता ९।१०) । प्रकृति केवल एउटा यन्त्र मात्र हो । के तपाईं ठान्नुहुन्छ कि यन्त्रले यसको सञ्चालकबिना काम गर्दछ ? के तपाईं यस्तो ठान्नुहुन्छ ? यसको कुनै उदाहरण छ ? अब हेर, यहाँ एउटा यन्त्र छः फोटोग्राफी, यो अद्भुत यन्त्र हो । यसले तस्वीर खिच्ने काम गर्दछ र यो तस्वीर चल्दछ । तर यसले काम गर्नका लागि फोटोग्राफरको आवश्यकता पर्दछ । त्यस्तो यन्त्र कहाँ छ जुन सञ्चालकबिना स्वतः चल्दछ ? के तपाईं कुनै उदाहरण दिन सक्नुहुन्छ,“यहाँ सञ्चालकबिना स्वतः चल्ने एउटा यन्त्र छ” ? भने तपाईं कसरी सोच्नुहुन्छ कि यो प्रकृतिरूपी यन्त्र कुनै परमसञ्चालक अर्थात् भगवान्को आदेशबिना चलिरहेको छ ? तपाईं कसरी यस्तो सोच्नुहुन्छ ? यो न्यायसंगत छैन । हामीले यसमा विचार गर्नुपर्ने हुन्छ । अनेक किसिमका प्रमाणहरू पाइन्छन् । तीमध्ये एउटा प्रमाण होः अनुमान । एउटा यस्तो अनुमान गर्न सकिन्छः “हामीले देखेका छौ कि कुनै पनि यन्त्रले कुनै सञ्चालकबिना काम गर्दैन, त्यसकारण, हामीले यो निष्कर्ष निकाल्नुपर्दछ किः हामीलाई भगवान् तथा प्रकृति के हो भन्ने ज्ञान नभए तापनि, हामीले निष्कर्ष निकाल्नुपर्दछ कि प्रकृतिले कुनै परमसञ्चालकको निर्देशनअनुसार काम गरिरहेको छ । त्यो सञ्चालक भगवान् हो ।” त्यो सञ्चालकलाई देख्नु आवश्यक छैन, तर हामीले अनुमान गर्न सक्छौँ कि यसको पछाडि कुनै सञ्चालक हुनैपर्दछ । अतः मनुष्य जीवन भनेको त्यो सञ्चालकलाई पत्ता लगाउनका निम्ति प्राप्त भएको हो । तब मात्र यो मनुष्य जीवन हो । नत्र यस्तो नगरेमा यो कुकुर तथा बिरालोको जीवनजस्तै बन्न पुग्दछ । मानिसहरू खाइरहेका छन्, सुतिरहेका छन्, मैथुन गरिरहेका छन् र आत्मरक्षा गरिरहेका छन् । यत्ति हो । त्यो मनुष्य जीवन होइन । तपाईंले पत्ता लगाउनैपर्दछ कि त्यो सञ्चालक को हो । यसलाई संस्कृत भाषामा यस्तो भनिन्छः अथातो ब्रह्म जिज्ञासा । “अब हामीलाई यो मनुष्य जीवन त्यो परमसञ्चालकको बारेमा जिज्ञासा गर्नका लागि प्राप्त भएको हो । र त्यो परमसञ्चालक कृष्ण अत्यन्त दयालु हुुनुहुन्छ । कृष्णले भगवद्गीतामा प्रमाण दिनुभएको छ,मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् (भगवद्गीता ९।१०)ः कृष्ण भन्नुहुन्छ, “म यहाँ छु । मेरो निर्देशनअनुसार प्रकृतिले काम गरिरहेकी छिन् ।” अब तपाईंले यसलाई स्वीकार गर्नुपर्दछ । त्यसपछि, मात्र तपाईंको जीवन पूर्ण हुन्छ । र कृष्णले प्रमाण दिनुभएको छ कि कसरी उहाँले प्रकृतिलाई नियन्त्रण गर्नुहुन्छ । जब कृष्ण ७ वर्षको हुनुहुन्थ्यो, उहाँले एउटा ठुलो पर्वत आफ्नो औंलामा उठाउनु भएको थियो| यसको अर्थ हो....हामी बुझ्दछौँ कि पृथ्वीमा गुरुत्वाकर्षणको नियम छ । यो हाम्रो आँकलन हो । तर कृष्णले यो गरेर देखाउनुभयो । यसको अर्थ होः कृष्णले गुरुत्वाकर्षणको नियमविरुद्ध काम गरिदिनुभयो । त्यसलाई भगवान् भनिन्छ । यसको अर्थ होः कृष्णले गुरुत्वाकर्षणको नियमविरुद्ध काम गरिदिनुभयो । त्यसलाई भगवान् भनिन्छ । अतः यदि तपाईं यो विश्वास गर्नुहुन्छ भने तपाईंले भगवान्लाई तुरुन्त बुझ्न सक्नुहुन्छ । यसमा कुनै कठिनाई छैन । जस्तै, यदि बच्चालाई सावधान गराइयो, “मेरो प्यारो छोरा, आगोलाई नछोऊ । यसले तिमीलाई पोल्नेछ ।” यदि बालकले यो उपदेशलाई स्वीकार गर्दछ भने उसले तत्काल पूर्ण ज्ञान प्राप्त गर्दछ । तर यदि उसले यसलाई स्वीकार गर्दैन भने उसले परीक्षण गरेर हेर्नेछ — त्यसपछि उसको औँला जल्नेछ अतः हाम्रो ज्ञान प्राप्त गर्ने प्रकृया होः तपाईंले परमआधिकारिक व्यक्तिबाट ज्ञान लिनुपर्दछ । फलस्वरूप, हाम्रो परीक्षण गर्ने समयको बचत हुनेछ । हाम्रो कृष्णभावनामृत अभियानले यही प्रकृयाद्वारा ज्ञान प्रदान गरिरहेको छ । हामीले कृष्णबाट परिपूर्ण ज्ञान प्राप्त गर्दछौँ । म अपूर्ण हुन सक्दछु । जस्तो कि एउटा शिशू अपूर्ण हुन्छ, त्यसैगरी, म अपूर्ण हुन पनि सक्छु, तपाईं पनि अपूर्ण हुन सक्नुहुन्छ । तर यदि तपाईंले सर्वोच्च परिपूर्ण व्यक्तिबाट परिपूर्ण ज्ञान लिनुहुन्छ भने तपाईंको ज्ञान पनि परिपूर्ण हुन्छ । यही नै सही प्रकृया हो । यसलाई अवरोह–पन्था भनिन्छ, अर्थात्, माथिबाट तलतिर ज्ञानको प्रवाह । अतः सबै कुरा उपलब्ध छ र यदि तपाईं यो अभियानबाट लाभ लिएर आफ्नो जीवनलाई परिपूर्ण बनाउन चाहनुुहुन्छ भने, र भगवद्धाम फर्कन चाहनुहुन्छ भने तपाईंले हाम्रो यो मेलबर्न केन्द्रलाई पूर्ण सदुपयोग गर्नुपर्दछ । यहाँ आउनुहोस्, हाम्रा पुस्तकहरू अध्ययन गर्नुहोस् र बहस गर्नुहोस् । आफ्नो सम्पूर्ण समझशक्ति लगाएर यसलाई बुझ्ने प्रयास गर्नुहोस्, अन्धाधुन्ध रूपमा स्वीकार गर्नु पर्दैन । यहाँ कारण पनि छ । यहाँ बहस पनि छ । यहाँ सिद्धान्त पनि छ । यहाँ विज्ञान पनि छ । यहाँ सबै कुरा छ । र यदि तपाईंले “केवल जप गरेर म यसलाई बोध गर्नेछु” भनी स्वीकार गर्नुहुन्छ भने त्यसको पनि अनुमति छ । दुवै उपायहरूः यदि तपाईं यो “हरे कृष्ण मन्त्रको जप गरेर भगवान्लाई बोध गर्ने” सरल प्रकृया अपनाउनुहुन्छ भने यो पनि सत्य हो । र यदि तपाईं “यो हरे कृष्ण मन्त्रको जप गर्नु वाहियात हो” भन्ने सोच्नुहुन्छ भने तपाईं पुस्तक अध्ययन गर्नुहोस् । हामीले दुवै मार्गहरू तयार गरेका छौँ । आउनुहोस् र यो अभियानबाट लाभान्वित हुनुहोस् । धेरै धेरै धन्यवाद ।

भक्तहरूः जय, जय !