NE/Prabhupada 0843 - जीवनको सुरुवातमा नै गल्ति छ । तिनीहरु शरीरलाई नै आत्मा ठान्दछन्

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


761215 - Lecture BG 16.07 - Hyderabad


त्यसकारण, आजभोलिका जनताहरू आसुरी प्रवृत्तिका छन्; तिनीहरू आफ्नो गन्तव्यमा पुग्ने मार्ग चिन्दैनन् । तिनीहरू भन्दछन् कि यो स्वार्थ हो तर यी बदमाशहरू जान्दैनन् कि आत्माको स्वार्थ भनेको के हो, किनभने तिनीहरूको जीवनको सुरुवात नै गलत ढंगले भएको छ । तिनीहरू आफ्नो शरीरलाई नै आत्मा ठान्दछन् । यस्तो अवस्थामा तिनीहरू कसरी आफ्नो आत्माको स्वार्थलाई जान्दछन् ? तिनीहरूको आधारभूत सिद्धान्त नै गलत छ । देहात्म–बुद्धि । कुकुर र बिरालोले पनि आफूलाई शरीर ठान्दछन् । र असुरहरू पनि त्यही ठान्दछन् । तिनीहरू आत्माको बारेमा जान्दैनन् न त तिनीहरू जान्ने चेष्टा नै गर्दछन् । देहिनोऽस्मिन् यथा देहे (भगवद्गीता २।१३) । यो शरीरभित्र जीवात्मा रहेको छ । तिनीहरू यो बुझ्न सक्दैनन् । त्यसकारण, तिनीहरूको आत्माको स्वार्थ नै गलत छ । वास्तविक स्वार्थ भनेको “म आत्मा हुँ । म भगवान्को पुत्र हुँ । मेरा पिता अत्यन्त, अत्यन्त धनी तथा वैभवशाली हुनुहुन्छ । मैले मेरा पिताको संगतलाई त्यागेको कारणले म अहिले कष्ट भोगिरहेको छु ।” नत्र कष्टको कुनै प्रश्न नै उठ्ने थिएन । हामीले यसको अनुभव प्राप्त गरेका छौँ । एउटा अत्यन्त धनी मानिसको पुत्रले किन कष्ट भोगिरहनुपर्छ र ? त्यसकारण, यहाँ कृष्ण भन्नुहुन्छ कि अहं बीजप्रदः पिता (भगवद्गीता १४।४)ः “म सम्पूर्ण प्राणीहरूको बीजदाता पिता हुँ ।” त्यसोभए....भगवान् भनेको षड्–ऐश्वर्यपूर्णः अर्थात् छ प्रकारका ऐश्वर्यले सम्पन्न व्यक्ति हुनुहुन्छ । उहाँ परिपूर्ण हुनुहुन्छ । उहाँ सम्पूर्ण लोकहरूका स्वामी हुनुहुन्छ, भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम् (भगवद्गीता ५।२९) । त्यसकारण, यदि म सम्पूर्ण लोकहरूका स्वामीको पुत्र हुँ भने, मैले कष्ट भोगिरहनुपर्ने प्रश्न नै उठ्दैन । त्यसकारण, आत्माको स्वार्थको आधारभूत सिद्धान्त नै हराएको छ । त्यसकारण, यो कृष्णभावनामृत अभियानको उद्देश्य नै तिनीहरूको चेतनालाई पुर्नजागृत गर्नु हो कि “तिमी यो शरीर होइनौ । तिमी आत्मा हौ । तिमी भगवान्का अंश हौ । तिमी किन कष्ट भोगिरहेका छौ ? त्यसकारण, तपाईं कृष्णभावनामृतलाई अपनाउनुहोस् र केवल कृष्णभावनामृतलाई अपनाएमा तपाईं भगवद्धाम फर्कनुहुनेछ र त्यसपछि तपाई. सुखी बन्नुहुनेछ ।” कृष्णले यसको पुष्टि गर्नुभएको छ । दुःखालयं अशाश्वतं नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गताः, मामुपेत्य (भगवद्गीता ८।१५)ः “यदि कोही मकहाँ आउँदछ भने,” मामुपेत्य, “ऊ मकहाँ आउँदछ भने ऊ यो भौतिक संसारमा पुनः फर्केर आउँदैन जुन दुःखालयमशाश्वतम् (भगवद्गीता ८।१५) छ ।” यो स्थान (भौतिक संसार) दुःखमय स्थान हो । तिनीहरू आफ्नो आत्माको स्वार्थलाई जान्दैनन्, त्यसकारण, यो दुःखमय स्थानलाई तिनीहरू सुखमय स्थान भनेर स्वीकार गरिरहेका छन् । तर वास्तवमा यो दुःखमय स्थान हो । तपाईं किन आफ्नो शरीरलाई ढाकिरहनुभएको छ ? शरीर नै सम्पूर्ण दुःखकष्टहरूको कारण हो । जस्तै, वायुमण्डलको सम्पर्कमा आउनेबित्तिकै म चिसो भएको अनुभव गर्दछु । त्यसकारण, मैले आफ्नो शरीरलाई ढाक्नुपर्दछ । दुःख निवारण गर्ने यो एउटा उपाय हो । हामी दुःखकष्ट भोगिरहेका छौँ तर हामी ती दुःखकष्टहरूलाई निवारण गर्ने प्रयास गरिरहेका छौँ । त्यसैगरी, ग्रीष्म ऋतुमा पनि दुःखकष्ट भोग्नुपर्दछ । त्यति बेला हामी आफ्नो शरीरलाई यसरी ढाक्न चाहँदैनौँ; हामी विद्युतीय पंखा चाहन्छौँ । त्यसकारण, संसारमा जहिले पनि दुःखकष्ट भइरहन्छ । गर्मी मौसममा होस् अथवा जाडो मौमसम होस्, दुःखकष्ट भोग्नैपर्दछ । तर हामी यो कुरा बुझ्न सक्दैनौँ । यो हाम्रो आसुरी स्वभावको कारणले भएको हो । त्यसकारण, हामी प्रश्न गर्दैनौँ । गर्मी मौसममा र जाडो मौसममा.... गर्मी मौसममा हामी चिसो मन पराउँदछौँ, र जाडो मौसममा हामी न्यानो मन पराउँदछौँ । अतः यी दुई वस्तुहरू रहिरहन्छन् । कहिलेकाहीँ न्यानोपन पनि दुःखको कारण बन्दछ; कहिलेकाहीँ यही चिसो पनि दुःखको कारण बन्दछ । त्यसोभए, सुख कहाँँ छ त ? हामी केवल लालसा गर्दछौँ “यदि अहिले न्यानो भइदिएको भए....”। तर न्यानोपन पनि दुःखको कारण हो । त्यसकारण, कृष्ण भन्नुहुन्छ “यी दुःखकष्टहरूको चिन्ता नगर । यो आउँछ र जान्छ । तिमी कुनै वस्तुलाई गर्मी मौसममा अत्यन्त आनन्ददायी ठान्दछौ । तर त्यही वस्तु जाडो मौसममा आनन्ददायी हुँदैन । अतः सुख र दुःख आउने–जाने गरिरहनेछन् । यी तथाकथित सुख र दुःखको चिन्ता नगर । आफ्नो दायित्व पूरा गर अर्थात् कृष्णभावनाभावित बन ।”