NE/Prabhupada 0383 - गौर पहू तात्पर्य



Purport to Gaura Pahu -- Los Angeles, January 10, 1969


गौर पहू ना भजिया गोइनु, प्रेम​-रथन​-धन हेलाय हाराइङु | यो नरोत्तम दास ठाकुरको अर्को भजन हो | उहाँले भन्दै हुनुहुन्छ कि "मैले चैतन्य महाप्रभुको आराधना नगरेर आफ्नो आध्यात्मिक मृत्यु निम्त्याएको छु |" गौर पहू ना भजिया गोइनु | गौर पहू अर्थात् "चैतन्य महाप्रभु |" ना भजिया, "आराधना नगरेर |" गोइनु, "मैले आध्यात्मिक मृत्यु निम्त्याएको छु |" र अधने यतने करि धनु तैनु | "किन मैले आध्यात्मिक मृत्यु निम्त्याएको छु ? किनकि म नचाहिने कार्यमा संग्लग्न छु र मैले आफ्नो जीवनको वास्तविक प्रयोजन नकारेको छु |" अधन अर्थात् मूल्यहिन कुराहरु | र धन भनेको मूल्यवान | वास्तवमा, हामी सबजना, आफ्नो आध्यात्मिक मुक्ति नकारेर, हामी भौतिक इन्द्रियतृप्तिमा संग्लग्न छौं र त्यसैले हामीले यो मानव शरीरको अवसर गुमाउँदैछौं, आफुलाई आध्यात्मिक स्तरमा उठाउने अवसर | यो मानव शरीर विशेष रुपमा बद्ध जीवलाई दिइन्छ, अध्यात्मिक मुक्तिको अवसर ग्रहण गर्नको लागि | जसले आध्यात्मिक मुक्तिको मतलब गर्दैन, उसले आध्यात्मिक मृत्यु निम्त्याउँदैछ | आध्यात्मिक मृत्यु भनेको आफुलाई बिर्सिनु, कि ऊ आत्मा हो | त्यो आध्यात्मिक मृत्यु हो | पशु जीवनमा पूर्ण विस्मृति हुन्छ | तिनीहरुलाई कुनै पनि परिस्थितिमा सम्झाउन सकिंदैन कि तिनीहरु शरीर होइनन्, तिनीहरु शरीर भन्दा भिन्न छन् | केवल मानव शरीरमा यो सम्भव छ, मानिसले बुझ्न सक्छ कि ऊ शरीर होइन, ऊ आत्मा हो | मानिसले हरे कृष्ण जपेर यो तथ्य सजिलै बुझ्न सक्छ र चैतन्य महाप्रभुको आराधना गरेर, उहाँको सिद्धान्त र मार्गको अनुसरण गरेर मानिसले हरे कृष्ण जप्न सक्छ र सजिलै आध्यात्मिक बुझाइको स्तरमा आउन सक्छ | तर नरोत्तम दास ठाकुरले हाम्रो हेतु भन्दै हुनुहुन्छ कि हामी यसको उपेक्षा गर्दैछौं | तसर्थ हामीले आध्यात्मिक मृत्यु निम्त्याउँदैछौं | त्यसपछि उहाँले भन्नुहुन्छ कि प्रेम-रथन-धन हेलाय हाराइङु | आध्यात्मिक जीवनभनेको वास्तविक प्रेम विकास गर्नु | सबजनाले प्रेम भन्छन् | धेरै नाम-पट्ट छन्, धेरै पत्र छन्, "प्रेम, प्रेम |" तर कुनै प्रेम छैन | यो भ्रम हो | यो सबै कामवासना हो | नशाप्रति प्रेम, मैथुनप्रति प्रेम, यसप्रति प्रेम.... यो चल्दैछ | वास्तविक प्रेम भनेको..... प्रेम, यो शब्द केवल भगवान् कृष्णलाई लागू गर्न सकिन्छ | किनक हाम्रो सृष्टि त्यस प्रयोजनको लागि भएको हो | प्रेम गर्नु भनेको कृष्णलाई प्रेम गर्नु | त्यो आवश्यक छ | त्यो आध्यात्मिक प्रेम हो | प्रेम-रथन | मैले प्रेमको उक्त दिव्य स्तर हासिल गर्न सक्थें तर मैले उपेक्षा गर्दैछु | तसर्थ मैले आफ्नो आध्यात्मिक मृत्यु निम्त्याउँदैछु | र यी कुराहरु मेरा अतितका पापहरुको कारणले गर्दा भइरहेका छन् | जोसँग यो भौतिक शरीर छ, यो अतितका पापहरुको कारणले गर्दा प्राप्त भएको हो | कहिलेकहीं हामीले पुण्य कार्य गर्छौं | वास्तवमा, जबसम्म मानिससँग यो भौतिक शरीर छ, तबसम्म पुन्यको कुनै प्रश्न उठ्दैन | पुन्य भनेको भौतिक शरीर नहुनु | त्यो पुण्य हो | अन्यथा, यो तथ्यको रुपमा लिनुपर्छ कि ब्रह्मा पनि, जो यस ब्रह्माण्डका प्रमुख जीव हुन् र जसको आयु करोडौं वर्ष छ, धेरै शक्ति छ, तर पनि त्यसलाई पाप मानिन्छ किनकि उनीसँग भौतिक शरीर छ | हामी आफ्नो पापको कारण एउटा पनि अर्को शरीर गर्दै धेरै तल, तल गिर्दैछौँ | भागवतमा पनि भनिएको छ कि तिनीहरुलाई थाहा छैन, कि यस इन्द्रियतृप्तिको प्रक्रियाद्वारा तिनीहरुले अर्को शरीर प्राप्त गर्नेछन् | र शरीर नै भौतिक पीडाको कारक हो | मसँग यो शरीर भएको कारण मेरो टाउको दुख्छ, पेट दुख्छ | मलाई यो र त्यो अनुभव हुन्छ | तर जब हामी यो भौतिक शरीरबाट बाहिर निस्कन्छौं, तब कुनै भौतिक पीडा हुँदैन | केवल आनन्दमय जीवन हुन्छ | ब्रह्म-भूतः प्रसन्नात्मा (भ गी १८|५४) | प्रसन्नात्मा भनेको आनन्दमय, जब मानिसले आध्यात्मिक जीवन प्राप्त गर्छ | मेरा अतितका कार्यहरुले गर्दा मैले यो अवसर गुमाउँदैछु | अपन कर मद सेव​... यो किन हुँदैछ ? सत् सङ्ग छाडि ख्ऐनु असत्येर विलास​ | "मैले भक्तहरुको सङ्ग त्यागेको छु, तर म साधारण नचाहिने मानिसहरुसँग संगत गर्दैछु |" असत्येर | असत् र सत् | सत् भनेको आत्मा | असत् भनेको पदार्थ | भौतिक आशक्तिको सङ्ग भनेको यो भौतिक जीवनमा बन्धन | त्यसैले, हामी भक्तिहरुको सङ्गमा रहनुपर्छ | सतां प्रसङ्गाद् मम वीर्य​-संविदो | केवल भक्तहरुको सङ्गमा भगवानको बारेमा बुझ्न सकिन्छ | तसर्थ हामीले कृष्ण भावनामृत अभियानको प्रचार गर्दैछौं | वास्तवमा, तिमीले पाउनेछौ कि जो यस संघमा आउँछ, केहि दिन वा केहि हप्ता सङ्गमा रहेर ऊ सचेत हुन्छ र ऊ दिक्षा तथा अरु विकासको लागि तत्पर हुन्छ | त्यसैले यो सङ्ग धेरै महत्वपूर्ण छ | जसले विभिन्न केन्द्र तथा मन्दिर सन्चालन गर्दै छन्, उनीहरु धेरै जिम्मेवार हुनुपर्छ, किनकि सबै कुरा उनीहरुको इमानदार गतिविधि र चरित्रमा निर्भर हुन्छ | यदि उनीहरु कपटी भए भने कुनै प्रभाव हुनेछैन | को हाम्रो सङ्गमा आउन सक्छ, तर यदि हामी कपटी भयौं भने कुनै प्रभाव हुनेछैन | तर यदि भक्तहरु इमानदार हुन्छन् भने उनीहरुको सङ्गमा जो आए पनि ऊ परिवर्तन हुन्छ | त्यो रहस्य हो | सत्-सङ्ग छाडि असत्येर विलास​ | र जब हामीले भक्तहरुको सङ्ग त्याग्छौं, तत्काल मायाले हामीलाई समाउँछिन् | जब हामीले यो सङ्ग त्याग्छौं, मायाले भन्नेछिन् "हो, मेरो सङ्गमा आऊ |" कुनै सङ्ग बिना, कोहि पनि तटस्थ रहन सक्दैन | ऊ माया वा कृष्णको सङ्गमा रहनुपर्छ | त्यसैले सबजना भक्त तथा कृष्णको सङ्गमा रहन गम्भीर हुनुपर्छ | कृष्ण भनेको..... जब हामीले कृष्ण भन्छौं, "कृष्ण" भाको भक्तहरुका साथमा कृष्ण | कृष्ण कहिल्यै एक्लो रहनुहुन्न | कृष्ण राधारानीसँग रहनुहुन्छ | राधारानी गोपीहरुसँग रहनुहुन्छ | र कृष्ण ग्वालबालसँग रहनुहुन्छ | हामी निराकारवादी होइनौं | हामीले कृष्णलाई एक्लो देख्दैनौं | त्यसैगरी, कृष्ण भनेको कृष्णका भक्तहरु | त्यसैले कृष्ण भावना भनेको कृष्णका भक्तहरुको सङ्गमा रहनु | विषय विषम विष सतत खाइनु | र उहाँले भन्नुहुन्छ कि "मैले सधैं इन्द्रियतृप्तिको खतरनाक विष पिएको छु |" विषय विषम विष | विषय भनेको इन्द्रियतृप्ति | खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु | यिनीहरुलाई विषय भनिन्छ | र विषम भनेको खतरनाक रुपमा | र विष | यदि मानिस पशुहरु जस्तै केवल यी चार सिद्धान्तमा संग्लग्न हुन्छ भने उसले केवल विष पिएको मान्नुपर्छ | त्यति हो | विषय विषम सतत खाइनु | "मलाई थाहा छ यो विष हो, तर म यति प्रमत्ता भएको छु, कि म यो विष हरेक क्षण पिउँदैछु |" गौर-कीर्तन​-रसे मगन ना पैनु | "र मैले आफुलाई चैतन्य महाप्रभुले सुरु गर्नुभएको सङ्कीर्तन अभियानमा समाहित गर्न सकिनँ |" त्यो वास्तवमा तथ्य हो | जो भौतिक जीवनप्रति धेरै नै आसक्त हुन्छन्, वा सधैं इन्द्रियतृप्तिको विष पिउँछन्, तिनीहरु यस सङ्कीर्तन अभियानप्रति आकर्षित हुँदैनन् | अन्त्यमा, नरोत्तम दास ठाकुरले विलाप गर्नुहुन्छ | उहाँले हाम्रो प्रतिनिधित्व गर्दै हुनुहुन्छ | यदि मानिस विलापको उक्त अवस्थामा आउँछ भने त्यो धेरै राम्रो हुन्छ | ऊ तत्काल शुद्ध हुन्छ | विलाप भनेको शुद्धिकरण | उहाँले भन्नुहुन्छ, केनो वा आछय प्राण किछु बलि... "किन म जीवित छु ? म भक्तहरुको सङ्गमा बस्दिनँ, म सङ्कीर्तन अभियानमा सहभागी हुँदिन | मलाई थाहा छैन कृष्ण को हुनुहुन्छ | मलाई थाहा छैन चैतन्य महाप्रभु को हुनुहुन्छ | म केको लागि जीवित छु ?" यो विलाप हो | "मेरो खुसी के हो ? मेरो खुसीको स्तर के हो ? म किन जीवित छु ?" नरोत्तम दास केन ना गेल | "मेरो मृत्यु धेरै अगाडि नै किन भएन ? म मर्नुपर्थ्यो | मेरो जीवनको के अर्थ ?" यो नरोत्तम दास ठाकुरको विलाप होइन | हामी सबजनाले त्यस्तो सोच्नुपर्छ कि "यदि हामी भक्तहरुको सङ्गमा रहन सक्दैनौं, यदि हामी कृष्ण भावनामृत अभियान बुझ्न सक्दैनौं, यदि हामी चैतन्य महाप्रभु र उहाँका पार्षदको सम्पर्कमा आउँदैनौं भने मर्नु नै राम्रो हुन्छ | र अरु कुनै उपचार छैन |"